Logo

मुख्य समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू



काठमाडौं ।  साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार सार्वजनिक भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

निर्णयहरुमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई मलेसियामा हुने नेपाल आदिवासी जनजाति महासंघको चौथो अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन स्वीकृति प्रदान गरिएको छ । कार्यक्रम साउन १८ गतेका लागि तय गरिएको छ ।

यसैगरी जापानको टोकियोमा भदौ ९–१३ सम्म हुने Asia Pacific Group on Money Laundering  -APG_ कार्यक्रममा ७ सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी हुने मन्त्री गुरुङले बताए ।

थाइल्याण्डको बैंककमा साउन १३–१५ गते आयोजना हुने CARE for South Asia Workshop मा सचिव गोविन्दबहादुर कार्की सहभागी हुनेछन् ।

जापानको ओसाकामा साउन १२–१३ मा हुने नेपाल दिवस कार्यक्रममा सचिव डा. रामप्रसाद घिमिरेले सहभागी हुनेछन् ।

यसैगरी सासेक विद्युत ट्रान्समिसन तथा वितरण आयोजनाका लागि ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट बाट प्राप्त १०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय गरिएको छ ।

नेपालका लागि पोल्याण्डका अवैतनिक महावाणिज्यदूत लोकमान्य गोल्छालाई पोल्याण्ड सरकारले प्रदान गर्न लागेको Officerus Cross of the Order of Merit पदक ग्रहण गर्न स्वीकृति दिइएको छ ।

रुकुम (पूर्व) जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा पर्ने रुकुमकोट तोक्ने निर्णय भएको छ ।

यसैगरी मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको जनाएको छ  ।

नेपाल स्काउटसम्बन्धी कानून संशोधन तथा एकीकरण गर्न विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत गरिएको छ ।

बलेफी कोरिडोर १३२ केभी प्रसारण लाइन आयोजना निर्माणका लागि सिन्धुपाल्चोकको जुगल गाउँपालिका र बाह्रबिसे नगरपालिका क्षेत्रभित्र पर्ने ९.८७५७ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न विद्युत प्राधिकरणलाई अनुमति दिइएको छ ।

दाना खोला जलविद्युत आयोजना निर्माणका लागि मनाङ जिल्लामा ४.८ हेक्टर राष्ट्रिय वन क्षेत्र लालुपाते हाईड्रोपावर कम्पनीलाई उपयोग गर्न स्वीकृति दिइएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ६ : ३० बजे