काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणलाई लक्षित गर्दै काठमाडौं गोर्खाजले नयाँ व्यवस्थापन, नाम, लोगो सार्वजनिक गरेको छ ।
राजधानीको प्रतिनिधित्व फ्रेन्चाइज टिमले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत विभिन्न पक्षमा भएको परिवर्तन सार्वजनिक गरेको हो ।
पहिलोपटक काठमाण्डु गुर्खाजबाट काठमाडौं गोर्खाज नाममा परिवर्तन गर्दै टोलीले आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको छ । नयाँ लोगोले काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदालाई प्रतिनिधित्व गर्ने दाबी गरिएको छ ।
काठमाडौं स्पोट्र्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको टोलीले यसपटक व्यवस्थापनदेखि तयारीसम्मका धेरै पक्षमा नयाँ आयाम थपिएको बताएको छ । काठमाडौं, ललितपुर, भक्तपुर र नुवाकोट जिल्लालाई लक्षित गर्दै टोलीले आफ्नो गतिविधि केन्द्रित गर्ने जनाएको छ ।
टोलीले वल्ड लिंकसँग मुख्य प्रायोजन सम्झौता गरेको छ । सम्झौताअनुसार वल्ड लिंकको लोगो टोलीको जर्सीको अगाडिको भागमा देखिनेछ । काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया र वल्ड लिंकका कार्यकारी निर्देशक मनोज अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
त्यस्तै, हस्पिटालिटी पार्टनरको रुपमा ‘रोयल टुलिप काठमाडौं’ फ्रेन्चाइजसँग जोडिएको छ । ललितपुरको ग्वार्कोस्थित पाँचतारे होटल ‘रोयल टुलिप’ एनपीएल–२ का दौरान टोलीको आवासस्थल हुनेछ । सम्झौतामा काठमान्डु गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरी र होटलका जेनेरल म्यानेजर बलराम पाठकले हस्ताक्षर गरेका थिए ।
टोलीले नेपाल राष्ट्रिय टिमका पूर्व प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरिसकेको छ । उनी आगामी महिनामा हुने मिनी अक्सनको समयमा नेपाल आउने अपेक्षा गरिएको छ ।
मोन्टीको साथमा सहायक प्रशिक्षक वसन्त शाही, टेक्निकल एनालिस्ट सुरज शाक्य र फिजियो पुरन तिरुवा टोलीमा यथावत रहने छन् । बाँकी सपोर्ट स्टाफको टुंगो चाँडै लगाइने टोलीले जनाएको छ ।
टोलीले एनपीएलको पहिलो सिजनबाट मार्की खेलाडी करण केसी, भीम सार्की, शाहव आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ ।
त्यस्तै, टोलीको ट्रेनिङ पार्टनरको रुपमा थन्डर बोल्ट क्रिकेट एकेडेमी रहनेछ । जैम्स स्कुल परिसरमा सञ्चालन हुने एकेडेमीमा फ्लडलाइट सुविधा पनि रहने बताइएको छ । निर्माण कार्य सम्पन्न भएपछि टोलीले यही एकेडेमीमा प्रशिक्षण गर्ने योजना बनाएको छ ।
प्रतिक्रिया