Logo

कर्पोरेट

सांग्रिलाको लाभांश क्षमता ११.६४ प्रतिशतमा, बक्यौता ब्याज उठाउँदै नाफा र आम्दानीमा सुधार



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८१/८२ मा बक्यौता ब्याज असुली र सञ्चालन आम्दानीमा वृद्धिका कारण नाफा र लाभांश क्षमतामा उल्लेखनीय सुधार गरेको छ।

बैंकले हालै सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार, चालु आर्थिक वर्षमा बैंकको खुद नाफा ६.५१ प्रतिशतले बढेर ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकले ५० करोड ४२ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

यद्यपि बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको १ अर्ब ९० करोड ६९ लाख रुपैयाँबाट घटेर १ अर्ब ८८ करोड ९ लाख रुपैयाँमा झरेको छ। तर, शुल्क तथा कमिसन आम्दानी १८ करोड ८० लाखबाट बढेर २१ करोड ६१ लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन आम्दानी ९ करोड २८ लाखबाट १७ करोड ५० लाख रुपैयाँमा उक्लिएको छ।

बैंकको कुल सञ्चालन नाफा ७० करोड ३४ लाखबाट ७७ करोड ४२ लाख रुपैयाँ पुगेको छ। यो वृद्धिमा बक्यौता ब्याज असुली प्रमुख कारक बनेको देखिन्छ।

गत वर्ष बैंकले १९ करोड १ लाख ९१ हजार रुपैयाँ बराबरको उठ्न बाँकी ब्याज असुल गरेर रेगुलेटरी रिर्जर्भबाट सञ्चित नाफामा ट्रान्सफर गरेको छ। यसले बैंकको वितरणयोग्य नाफा ४१ करोड ३८ लाख रुपैयाँ बनाएको छ।

बैंकले चुक्ता पूँजी ३।६५ प्रतिशतले बढाएर ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ पुर्‍याएको छ। सञ्चित नाफा ४१ करोड ३४ लाख र जगेडाकोष १ अर्ब ६० करोड ३० लाख रुपैयाँ रहेको छ।

बैंकको प्रतिसेयर आम्दानी (EPS) १४ रुपैयाँ ७० पैसाबाट बढेर १५ रुपैयाँ १० पैसा पुगेको छ भने नेटवर्थ प्रतिकित्ता १५६।७१ रुपैयाँ रहेको छ। वार्षिक रिटर्न अन इक्विटी (RoE) ९।७७ प्रतिशत पुगेको छ।

अन्य वित्तीय सूचकांकहरू हेर्दा, सांग्रिलाको निष्कृय कर्जा अनुपात ३।९३ प्रतिशतबाट बढेर ५।६४ प्रतिशत पुगेको छ। पुँजीकोष पर्याप्तता अनुपात (CAR) १४।४१ प्रतिशत, आधार दर ७।०८ प्रतिशत, ब्याजदर अन्तर (स्प्रेड रेट) ४।१४ प्रतिशत, र सीडी रेसियो ८३।०७ प्रतिशत रहेको छ।

बैंकले गैर बैंकिङ सम्पत्तिका लागि रेगुलेटरी रिजर्भमा ८ करोड १२ लाख ९३ हजार रुपैयाँ छुट्याएको छ।

उक्त प्रदर्शनका आधारमा सांग्रिलाको लाभांश वितरण क्षमता ११।६४ प्रतिशत पुगेको छ, जसले आगामी लाभांश घोषणामा सकारात्मक संकेत दिएको छ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  १२ : ३७ बजे