विराटनगर । धरान उपमहानगरपालिकाले नगर अस्पताल निर्माणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गा फिर्ता गर्न माग गरेको छ। मेयर हर्कराज राई (साम्पाङ)ले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाउँदै धरानको छाता चोकस्थित पुरानो अस्पतालको जग्गा उपमहानगरपालिकालाई फिर्ता गर्न औपचारिक अनुरोध गरेका हुन्।
मेयर राईले पत्रमा उक्त जग्गा ‘अनुचित तरिकाले’ प्रतिष्ठानलाई दिइएको भन्दै आपत्ति जनाएका छन्। पत्रमा भनिएको छ, “धरान उपमहानगरपालिकाले आफ्नै नगर अस्पताल निर्माण गर्न चाहेको हो, त्यसैले छाता चोकस्थित पुरानो अस्पतालको जग्गा फिर्ता गरिनु पर्छ।”
उक्त पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश सरकार, र बीपी प्रतिष्ठानलाई बोधार्थ पठाइएको छ।
हाल धरानमा नगरपालिकाको स्वामित्वमा रहेको अस्पताल छैन। स्वास्थ्य बीमा कार्यक्रमसम्बन्धी समस्या तथा स्थानीय सेवाको अभावका कारण नगर अस्पतालको आवश्यकता बढेको धरानले जनाएको छ। यिनै कारणले धरानले पुरानो अस्पताल परिसरमै नयाँ नगर अस्पताल निर्माण गर्ने योजना अघि सारेको हो।
तर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने उक्त जग्गा आफूलाई वैधानिक प्रक्रिया मार्फत प्राप्त भएको बताएको छ। प्रतिष्ठानका अनुसार, २०४८ साल माघ ४ गतेको तत्कालीन सरकारको निर्णयअनुसार १ बिघा ४ कठ्ठा १३.१ धुर जग्गा आफ्नो नाममा नामसारी गरिएको हो।
प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै स्थानीय सरकार प्रमुखको अभिव्यक्तिले भ्रम सिर्जना गरेको भन्दै असन्तुष्टि जनाएको छ। मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत पनि जग्गा फिर्ताको माग गर्दै जनदबाब सिर्जना गर्न अपिल गरेका थिए।
उनको यो अभिव्यक्ति र पत्रमा प्रयोग गरिएको भाषाले सार्वजनिक वृत्तमा बहस सिर्जना गरेको छ। कतिपयले नगर अस्पताल निर्माणको पहलको समर्थन गरे पनि भाषिक शैलीको आलोचना गरेका छन्।
प्रतिक्रिया