Logo

अर्थ

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट




काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले अब अन्नपूर्ण न्यूरो अस्पतालमा प्रदान गरिने विभिन्न सेवामा १० प्रतिशत छुट पाउने भएका छन्। बैंक र अस्पतालबीच भएको समझदारीपछि छुट सम्बन्धी यो सुविधा लागू गरिएको हो।

बैंकका सहायक महाप्रबन्धक तथा चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र अन्नपूर्ण न्यूरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरद हरी गजुर्यालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता साथै बैंकको मोबाइल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले अस्पतालको सेवामा १० प्रतिशत छुट पाउनेछन्। छुट सुविधा हेल्थ प्याकेज, प्याथोलोजी, रेडियोलोजी, एम्बुलेन्स सेवा, बेड शुल्क, सर्जरी लगायतका सेवामा लागू हुनेछ।

नशा रोगसम्बन्धी सेवाका लागि परिचित अन्नपूर्ण न्यूरो अस्पतालले हाल विभिन्न विशेषज्ञ सेवा पनि प्रदान गर्दै आएको छ।

ग्राहककेन्द्रित सेवा विस्तार गर्ने उद्देश्यसहित ग्लोबल आइएमई बैंकले समय सान्दर्भिक योजनाहरू ल्याउँदै आएको बताएको छ। हालै बैंकले ‘ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत नेपालकै सर्वश्रेष्ठ बैंकको मान्यता पाएको छ।

सातै प्रदेशका ७७ वटै जिल्लामा शाखा विस्तार गरिसकेको बैंकसँग हाल ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्र सञ्चालनमा छन्।

बैंकले देश–विदेशमा रहेका नेपालीहरुलाई बैंकिङ तथा रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ। बैंकका अनुसार संयुक्त राज्य अमेरिका, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई लगायतका देशबाट नियमित रूपमा रेमिट्यान्स भित्र्याउँदै आएको छ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ५ : ०६ बजे