Logo

समाचार

नेपाल ट्रेड यूनियन कांग्रेसले स्वागत गर्‍यो न्यूनतम पारिश्रमिक वृद्धि, चीनमा फसेका १६० नेपाली श्रमिकको तत्काल उद्धारको माग



काठमाडौँ । नेपाल ट्रेड यूनियन कांग्रेस (NTUC) को साउन ४ गते बसेको बैठकले हालै भएको न्यूनतम पारिश्रमिक वृद्धिको स्वागत गरेको छ। श्रम ऐन, २०७४ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक पुनः निर्धारण गर्नुपर्ने प्रावधानअनुसार त्रिपक्षीय समितिको निर्णयलाई NTUC ले श्रमिकको जीवनस्तरमा न्यूनतम राहत पुर्‍याउने कदमको रूपमा व्याख्या गरेको छ।

सरकार, रोजगारदाता, र श्रमिक प्रतिनिधिहरू सम्मिलित न्यूनतम पारिश्रमिक निर्धारण समितिको सर्वसम्मत निर्णयलाई सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि NTUC ले यस निर्णयलाई विधिसम्मत र स्वागतयोग्य भनेको छ। तर महासंघले महँगीको चापलाई हेर्दा पारिश्रमिक अझै पर्याप्त नभएको जनाउँदै, कार्यविधि तर्जुमा गरी अविलम्ब कार्यान्वयन र निगरानीको लागि त्रिपक्षीय संरचना बनाउने माग समेत अघि सारेको छ।

बैठकमा कतिपय संस्थाबाट आएको आलोचना र टिप्पणीप्रति पनि महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। महासंघले यस्ता “तुच्छ टिप्पणी” गर्ने प्रवृत्तिको खेद व्यक्त गर्दै ट्रेड युनियनको मूल्य, मान्यता र आदर्शप्रति आफू पूर्णतः प्रतिवद्ध रहेको स्पष्ट पारेको छ।

साथै, असार २४ गते रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन सीमा नजिकको मितेरी पुल बगाएपछि रसुवा गढी भन्सार क्षेत्र ठप्प हुँदा चिनियाँ भूमिमा फसेका १६० भन्दा बढी नेपाली श्रमिकको उद्धार अझै हुन नसकेकोमा महासंघले चिन्ता व्यक्त गरेको छ।

केरुङको तानसिङ क्षेत्रमा रहेका यातायात मजदुर, सवारी चालक तथा सहचालकहरूले बिरामी परेको, औषधिको अभाव, डकुमेन्ट नहुनु लगायतका समस्या भोगिरहेको उल्लेख गर्दै महासंघले नेपाल सरकारसँग ती श्रमिकहरूको तत्काल उद्धारको माग गरेको छ।

“श्रमिकहरू उद्धारको पर्खाइमा छन्, उनीहरूको स्वास्थ्य र सुरक्षा प्राथमिकताको विषय हो,” महासंघले विज्ञप्तिमा भनेको छ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  २ : ३८ बजे