Logo

समाचार

वरिष्ठ वन अधिकृत घुससहित पक्राउ



धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको डिभिजन वन कार्यालयका एक वरिष्ठ वन अधिकृतलाई घुससहित रंगेहात पक्राउ गरेको छ । आयोगको टोलीले शुक्रबार वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई सेवाग्राहीबाट सात लाख ३१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

आयोगद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, जिल्ला कैलाली, चुरे गाउँपालिका वडा नं. ६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरिएको काठको निकासी र छोडपुर्जीका लागि यादवले सेवाग्राहीसँग घुस/रिसवत माग गरेको सूचना एवं उजुरी परेको थियो ।

सोही सूचना र उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिगएको टोलीले निज वरिष्ठ वन अधिकृत यादवलाई सेवाग्राहीबाट रु. ७,३१,०००।– (सात लाख एकतीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित डिभिजन वन कार्यालय, धनगढीबाटै नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भएअनुसार, पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ । यो घटनाले सरकारी निकायभित्र व्याप्त भ्रष्टाचारको अवस्थालाई फेरि एकपटक उजागर गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार  ९ : २८ बजे