नवलपुर। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकामा हुने मधुमेह (टाइप १) को परीक्षण र उपचार निःशुल्क गर्ने तयारी गरेको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित मधुमेह परीक्षण तथा जनचेतना कार्यक्रममा उक्त जानकारी दिएका हुन्।
मन्त्री पौडेलका अनुसार सातवटै प्रदेशमा बालबालिकाको मधुमेह परीक्षण तथा उपचार सेवा विस्तार गर्न लागिएको छ। “बालबालिकामा हुने मधुमेहको निःशुल्क उपचारका लागि सातवटै प्रदेशमा सेवा सञ्चालनको तयारी भइरहेको छ,” मन्त्री पौडेलले भने, “मधुमेह वृद्ध उमेरका रोग मात्र होइन, यो बालबालिकामा पनि देखिने भएकाले समयमै पहिचान र उपचार जरुरी छ।”
उनले बालमैत्री स्वास्थ्य कार्यक्रम सञ्चालन गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै बालबालिकासँग सम्बन्धित वंशानुगत र जीवनशैलीसम्बन्धी रोगहरूलाई लक्षित गरी विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको जानकारी दिए। साथै, उनले डिजिटल उपकरणहरूको अत्यधिक प्रयोगका कारण बालबालिकामा देखिएको स्वास्थ्य समस्या समाधानमा पनि सरकार सक्रिय रहेको बताए।
कार्यक्रममा नुरा हेल्थ फाउन्डेसनका देशीय निर्देशक डा. सुशील कोइरालाले बालबालिकामा देखिने मधुमेह ‘टाइप १’ भएको बताउँदै, यो अवस्थामा शरीरले इन्सुलिन उत्पादन नगर्ने र जीवनभर इन्सुलिन सुईको भरमा बाँच्नुपर्ने जानकारी दिए। हाल नेपालमा मधुमेह टाइप १ का करिब ६०० जना बालबालिका सूचीकृत छन् भने थप संख्यामा बिरामीहरू उपचारबिना रहेका उनले बताए।
डा. कोइरालाका अनुसार हाल नेपालका पाँच वटा अस्पतालमा टाइप १ मधुमेहको उपचार सेवा दिइँदै आएको छ। उनले किशोरावस्थाबाट सुरु हुने यो रोगबारे समयमै चेतना र सावधानी आवश्यक रहेको बताए।
कार्यक्रम विजय विकास स्रोत केन्द्रको ४७औं स्थापना दिवसको अवसरमा आयोजित थियो। कार्यक्रमको प्राविधिक सहयोग गैँडाकोट आधारभूत अस्पताल तथा क्वेस्ट फर्मास्युटिकल्स प्रालिले गरेका थिए। अध्यक्ष कृष्णप्रसाद सापकोटाले मधुमेहबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए।
प्रतिक्रिया