काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले डा. शेखर कोइराला समूहबाट मन्त्री बनेकाहरूलाई तत्काल फिर्ता बोलाउनुपर्ने बताएका छन्।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता बजगाईँले कोइरालाको सिफारिसमा मन्त्री बनेकाहरूको कार्यक्षमता कमजोर रहेको भन्दै तत्काल फिर्ता बोलाउनुपर्ने आवश्यकता औंल्याएका हुन्।
उनले भने, “डा. शेखर कोइरालाले कम्तिमा आफूले सिफारिस गरेर पठाएका मन्त्रीहरूलाई फिर्ता बोलाउनुपर्छ। साथै, आफूलाई समर्थन गर्ने तथा नगर्ने सांसदहरूसँग छलफल गरी सभापति वा संसदीय दलको नेतामाथि दबाब सिर्जना गर्न निर्देशन दिनुपर्छ।”
बजगाईँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको आलोचना गर्दै उनले उल्लेख्य काम गर्न नसकेको आरोप लगाए। “ठूला विकास परियोजनाहरू अघि सार्न नसक्नु, पर्यटन पूर्वाधार विकासमा चासो नदेखाउनु, र नियतमै खोट देखिनु चिन्ताको विषय हो,” उनले टिप्पणी गरे।
बजगाईँको भनाइ अनुसार, मन्त्रीहरूको कमजोर प्रदर्शनले कांग्रेसको सार्वजनिक छवि प्रभावित गरिरहेको छ र यसप्रति डा. कोइरालाले जवाफदेही हुनुपर्ने अवस्था आएको छ।
प्रतिक्रिया