पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरोले घर पुरिँदा एक पुरुषको मृत्यु भएको छ भने एक महिला अझै बेपत्ता छिन्। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार ७८ वर्षीय छविलाल विश्वकर्माको शव आज बिहान पहिरोको मलबाबाट भेटिएको हो।
गए रातिदेखि लगातार परेको भारी वर्षापछि आज बिहान घरमाथिबाट खसेको पहिरोले छविलाल र उनकी ७५ वर्षीया श्रीमती विष्णुमती विश्वकर्मालाई पुरेको थियो। छविलालको शव स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा फेला परेको भए पनि विष्णुमतीको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टले जानकारी दिए।
वृष्टिका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ। घटनाको बेला घरमै रहेकी दम्पतीकी २८ वर्षीया बुहारी पवित्रा विश्वकर्मा भने भागेर ज्यान जोगाउन सफल भएकी छन्।
डिमुवा र कुश्माबाट खटिएको प्रहरी टोली तथा स्थानीयको सहयोगमा खोज तथा उद्धार कार्य जारी छ।










प्रतिक्रिया