विराटनगर । अविरल वर्षासँगैको बाढी र पहिरोले पूर्वी नेपालका विभिन्न स्थानमा क्षति पुर्याएको छ । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को संगमस्थल हेवाखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
शनिबार रातिदेखि निरन्तर परेको वर्षाका कारण कोसी प्रदेशका पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ र धनकुटाका नदी–नालामा पानीको बहाव उच्च भएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार, बाढी घटेपछि हेवाखोलाको डाइभर्सन मर्मत गरी यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
मेची राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ र पाँचथरका तीन स्थानीय तहमा सवारी आवागमन ठप्प भएको छ । ०८० असारमा आएको बाढीले हेवाखोलास्थित स्थायी पुल बगाएपछि बनाइएको अस्थायी बेलीब्रिज पनि अघिल्लो वर्षको असोज १२ गतेको बाढीले बगाएको थियो । गत जेठ ३१ मा बनेको नयाँ बेलीब्रिज समेत भाँचिएको छ ।
यस्तै, बाढीका कारण तमोर करिडोर पनि प्रभावित बनेको छ । धनकुटाको साँघुरीगढी गाउँपालिका–९ मा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
इलामको इलाम नगरपालिका–५, मान्द्रनीमा पूर्ण शंकरको एकतले घर पहिरोमा पुरिएको छ । टिनको छानो, ढुंगा–माटो र काठ प्रयोग गरिएको घरको केही भागमा क्षति पुगेको छ ।
त्यस्तै, देउमाई नगरपालिका–६, फुटुक दोकानगाउँमा रुख ढल्दा विद्युत् पोलमा क्षति पुगेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । इलामकै माईखोलाको पुलमा समेत बाढीले क्षति पुर्याएको छ ।
प्रशासन र सुरक्षा निकायले जोखिम भएका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।
प्रतिक्रिया