काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२÷०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि आयोजित प्रवेश परीक्षा शनिबार मर्यादित र व्यवस्थित रूपमा सम्पन्न भएको छ ।
परीक्षा बिहान ८ देखि १० बजेसम्म ५४ वटा परीक्षा केन्द्रहरूमा सञ्चालन भएको थियो । महानगरको शिक्षा विभागका अनुसार, देशभरका ७७ जिल्लाबाट प्राप्त १७,२२९ आवेदनमध्ये १६,१३७ विद्यार्थी छनोट भएका थिए । तीमध्ये १४,१७३ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।
परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित थियो, जसमा गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०र३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिएका थिए । गलत उत्तरका लागि नकारात्मक अङ्कन नहुने र उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अङ्क आवश्यक रहेको शिक्षा विभागले जनाएको छ ।
परीक्षाको उत्तरपुस्तिका ओएमआर प्रणालीमार्फत जाँच भइरहेको हो । यो प्रणालीमा मेसिनले उत्तरपुस्तिकालाई स्क्यान गरी स्वचालित रूपमा जाँच गर्छ, जसले परिणामको शुद्धता र पारदर्शिता सुनिश्चित गर्छ ।
सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार, उत्तरपुस्तिका जाँच्ने काम सुरु भइसकेको छ र नतिजा भोलि बिहान, अर्थात आइतबार बिहान, महानगरको आधिकारिक वेबसाइट मार्फत प्रकाशित हुने छ ।
काठमाडौं महानगरपालिकाले १६० संस्थागत विद्यालयहरूमा करिव चार हजार भन्दा बढी छात्रवृत्ति सिटमा छात्रवृत्ती उपलव्ध हुने पोखरेलको भनाइ छ ।
यी सिटहरूमा ४०५ सामुदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थी, ५५ संस्थागत विद्यालयमा छात्रवृत्तिमा पढेका , १४५ काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दा र १५ ल्यान्डफिल प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई प्राथमिकता दिइएको छ ।
प्रतिक्रिया