Logo

Breaking News 1

हेल्प नेपाल नेटवर्कमार्फत सातै प्रदेशमा बालगृह स्थापना गर्ने लक्ष्य छ : अरुण सिंह बस्नेत



अभिभावकविहीन, बेसहारा बालिकाहरूको जीवनमा आशाको ज्योति बन्ने हाम्रो प्रयासमा सहयोगी हातहरू अझै आवश्यक छ । काम गर्नका लागि फण्ड अपुग छ । संस्थाको उद्देश्यअनुसार काम गर्न लागि धेरै सहयोगी हातहरुको खाँचो छ ।
अरुण सिंह बस्नेत
संस्थापक अध्यक्ष
हेल्प नेपाल नेटवर्क

काठमाडौं । २५ वर्षअघि विश्वभरका नेपालीहरूबीच सहयोगको भावनालाई एकीकृत गर्ने उद्देश्यसाथ स्थापना गरिएको हेल्प नेपाल नेटवर्क अहिले समाजसेवाका क्षेत्रमा उदाहरणीय बन्दै गएको छ । संस्थाका संस्थापक अध्यक्ष अरुण सिंह बस्नेतका अनुसार, विदेशमा रहेका नेपालीहरूबाट सहयोग संकलन गरी नेपालमा स्वास्थ्य, शिक्षा तथा प्राकृतिक प्रकोपजस्ता क्षेत्रमा काम गर्ने मुख्य उद्देश्यका साथ यो संस्था स्थापना भएको हो ।

हेल्प नेपाल नेटवर्क बेलायत र नेपालमा एकैसाथ सुरु गरिएको थियो । हाल अमेरिकादेखि अस्ट्रेलियासम्म यसको सञ्जाल फैलिएको छ । संस्थाले लामो समयदेखि स्वास्थ्य केन्द्र, पुस्तकालय तथा शैक्षिक सहयोगका कार्यक्रम गर्दै आएको छ । देशमा संकट पर्नासाथ संस्थाले सक्रियता जनाउने गरेको छ ।

नेपालमा विशेषगरी दीर्घकालीन सामाजिक सेवामा समर्पित हेल्प नेपाल चिल्ड्रेन्स होम (बालगृह) अहिले काभ्रेको धुलिखेलमा सञ्चालित छ । द्वन्द्व पीडित बालबालिकाको सहायताका लागि सुरु गरिएको यो बालगृहमा हाल अनाथ तथा अभिभावकविहीन २४ जना बालिकाहरूको संरक्षण, शिक्षा र अभिवृद्धिको काम भइरहेको छ । अध्यक्ष बस्नेतका अनुसार, बालगृह २०७१ सालको भदौदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

‘धुलिखेलमा खासगरेर ०६२÷६३ सालमा द्वन्द्वपीडित बालबालिकाको लागि भनेर भवन निर्माण सुरु गरेका थियौं । तर विभिन्न कारणबस भवन निर्माण सुरु हुन ढिला भयो । द्वन्द्व पनि समाप्त भएको हुँदा त्यसपछि बालिकाहरु मात्रै राखेर हेल्प नेपाल चिल्ड्रेन्स् होम सुरु गर्यौं । त्यो विधिवत रुपमा ०७१ भदौदेखि सुरु भयो । अनाथ वा बाबाआमा नभएका र बुवा भएर आमाले अर्को बिहे गरेर छोरीहरुको विचल्ली भएकाहरु संस्थामा छन् । केही बालिकाहरू आज सक्षम बनिरहेका छन् । दुई जना कक्षा १२ पास गरेर विदा भइसकेका छन् भने एकजना डेनमार्कसमेत गएकी छिन्,’ बस्नेतले भने ।

हालै चार बालिकाले एसईई परीक्षा ‘ए’ग्रेडमा उत्तीर्ण गरेका छन् संस्थाको वार्षिक खर्च करिब ४० लाख रुपैयाँ पुग्ने बताउँदै बस्नेतले भने, ‘फण्ड अलिकति अपुग छ, तर बालिकाहरूको शिक्षादेखि जीवनशैलीमा कुनै सम्झौता गरेका छैनौं । महिनाको करिब तीन लाख खर्च हुने गर्छ ।’ बालगृहमा रहेका बालिकाहरूको बीमा पनि गरिएको छ । कक्षा १२ सकेपछि छुट्टिँदा उनीहरूलाई बीमाको रकम (४–५ लाखसम्म) उपलब्ध गराइने गरिन्छ ।

धुलिखेल बाहेक हेल्प नेपालले मुगुमा २० वर्षदेखि हेल्थपोस्ट पनि सञ्चालन गर्दै आएको छ । यस्ता सामाजिक सेवामा स्थानीय निकाय र सरकारी निकायबाट सहयोग र असहयोग दुवै भोग्नुपरेको अध्यक्ष बस्नेत बताउँछन् । ‘हामीजस्ता निस्वार्थ सेवामा लागेका संस्थाहरूमाथि अनुगमन आवश्यक भए पनि राज्यले त्यस्ता संस्थालाई वर्गीकृत गरेर फरक ढंगले हेर्नु आवश्यक छ,’ बस्नेतले भने ।

उनले सातवटै प्रदेशमा यस्ता बालगृह स्थापना गर्ने दीर्घकालीन लक्ष्य रहेको बताएका छन् । साथै, विद्यालय सञ्चालन, स्कुल सघाउने तथा हेल्थ क्याम्प सञ्चालनजस्ता कार्यक्रम पनि निरन्तर भइरहेको जानकारी दिए । सरकारबाट ठोस सहयोगको अपेक्षा नगरेको भए पनि अनुगमनमा गरिने व्यवहारले कहिलेकाहीँ असहजता थप्ने गरेको बस्नेतको भनाइ छ ।

उनले भने, ‘अभिभावकविहीन, बेसहारा बालिकाहरूको जीवनमा आशाको ज्योति बन्ने हाम्रो प्रयासमा सहयोगी हातहरू अझै आवश्यक छन् । तर अनुगमन गर्ने निकायहरुले हामीजस्तो संस्था परोपकारको लागि मात्रै काम गर्छ । नियमित भएको काममा पनि अनुगमन गर्नुपर्ने, कति प्रतिशत सरकारीलाई छुट्याउनुपर्ने यस्ता कुराहरुले गर्दा हामीलाई समस्या हुने गरेको छ ।’

नेपाल न्यूज बैंकसँग अध्यक्ष अरुण सिंह बस्नेतको कुराकानीको अंश
‘हेल्प नेपाल नेटवर्क २५ वर्ष अगाडि स्थापना भएको हो । यसको मुल उदेश्य विदेशमा रहेका नेपालीहरुबाट सहयोग जुटाएर नेपालमा स्वास्थ्य, शिक्षा र प्राकृतिक प्रकोपमा काम गर्ने हो ।सुरुमा बेलायत र नेपालमा एकैचोटि काम सुरु भयो । अहिले अस्ट्रेलिया, अमेरिकालगायत विभिन्न देशमा यसको नेटर्वकिङ छ । नेपालमा अहिले दिर्घकालीन कामहरुमा बालगृह सञ्चालन छ । जहाँ बालिकाहरु मात्रै राख्ने गरिन्छ । हेल्प नेपाल चिल्ड्रेन्स् होम धुलिखेलमा चलिरहेको छ । अर्को मुगुमा हेल्प पोष्ट छ । त्यो पनि २० वर्षदेखि चलिरहेको छ । स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालयको सिफारिशमा हेल्प नेपाल चिल्ड्रेन्स् होम धुलिखेलमा राख्ने गरेका छौं । अहिले त्यहाँ २४ जना बालिकाहरु छन् । दुई जना १२ कक्षा पास गरेर विदाई भइसकेका छन् । एकजना डेनमार्क गइसकेकी छिन् ।
यसपाली चार जनाले एसईई कक्षा पास गरे । जसमा चारै जनाले ‘ए’ ग्रेड नै लिएर आएका छन् । बालगृहका लागि काम गर्दैगर्दा वार्षिक ४० लाखजति खर्च हुन्छ । यसका लागि फण्ड पर्याप्त छैन् । धेरै कटौति गरेर काम गर्नु परेको छ । तर बालिकाहरुको लागि केहीमा पनि कमी गरेका छैनौं । महिनाको तीन लाख जस्तो त खर्च नै हुन्छ । समस्या धेरै नै छ । धेरै जनासँग कोडिनेशन गर्नुपर्छ, सरकारदेखि स्थानीय निकायसम्मको जवाफदेहिता धेरै कमजोरीहरु छन् । त्यसमा पनि स्थानीयबाट सहयोग र असहयोग दुवै छ । तर बालगृहका लागि हामीले ठूलै सर्पोट पाएका छौं । तर सरकारी तवरबाट हुने जुन अनुगमन छ त्यसबाट सर्पोट त छ तर पनि निस्वार्थ रुपले काम गर्दा कहिलेकाहीं समस्या पर्ने रहेछ ।
हेल्प पोष्ट र बालगृहमा आ–आफ्नै कर्मचारीहरु हुनुहुन्छ । सरकारी निकायले नीति नियम कडा बनाउनुपर्ने हो तर हामीजस्तो निश्वार्थ समाज सेवा गर्नेहरुलाई अलिकति खल्लो महशुस हुन्छ । राज्यप्रति कुनै गुनासो त होइन् तर अप्ठ्यारो परेको कुरा यहाँ बताएको मात्रै हो । सुधार गर्नुपर्ने कुराहरु त राज्यले संस्थाहरुमाथि हुने अनुगमन नै हो । अनुगमन गरेर कुन संस्था कसरी चलिरहेको छ, कुन स्रोतबाट चल्छ र यसको उद्देश्यहरु के छन् त्यसलाई क्याटागोरीमा छुट्टयाएर राख्नुपर्छ जस्तो लाग्छ । यस्ता संस्थाहरुलाई राज्यले वर्गीकरण गर्ने व्यवस्था गरिदिए हुन्थ्यो ।
वालगृहमा सानै उमेरमा आएका बच्चाहरु छन् । उनीहरुको भविष्यको सवालमा रहेर हेल्प नेपाल बालगृह धुलिखेलले काम गरिरहेको छ । यस कामप्रति एकदमै खुसी महशुस हुन्छ । बालगृहलाई आफ्नो घर सम्झेर पढेर, हुर्केर आज उनीहरु आफैं सक्षम भइरहेका छन् । यसले खुशी तुल्याउँछ । बालिकाहरुका लागि विभिन्न सुविधाहरु पनि उपलब्ध गराएका छौं । बीमाको व्यवस्था छ । विदाई भएर जाँदाखेरि चारपाँच लाख रुपैंयाँ हात लाग्छ । १२ कक्षा सकेर जाँदाखेरि उनीहरुले पाउने ईन्स्योरेन्स रकम हेरेर दिने गरेका छौं ।
हामीहरुले उनीहरुको भविष्यको लागि जति आफ्नो बच्चाहरुको लागि गर्न सकिन्छ त्यहि स्तरको होस भन्ने भावना अनुसार काम गरिरहेका छौं । हामीले सकेको राम्रो शिक्षा र हरेक क्रियाकलाप बालिकाहरुको लागि गरिरहेका छौं । वालगृह सञ्चालन गर्न धेरै गार्हो छ । तर जति पनि हाम्रो संजाल छ त्यसले धेरै सहयोग पुगेको छ । विदेशमा रहेका साथीहरुले धेरै गरिरहनु भएको छ । हामीबाट जति गर्नपर्ने थियो तर त्यति गर्न सकिएको छैन । यस्तै बालगृह सातवटा प्रदेशमा बनाउन सकिन्छ कि भन्ने लाग्छ । महत्वकांक्षा नबनाए त अगाडि बढ्न पनि नसकिदो रहेछ । सबै अनुकुल भयो भने कोही नभएकाहरुलाई सहारा दिने वातावरण हामीले सुरु गर्नुपर्ने छ । हाम्रो अर्को लक्ष्य भनेको स्कुल बनाउने, स्कुलहरुलाई सहयोग जुटाउने, हेल्थ क्याम्प सञ्चालन गर्ने हो । यि सबै कामका लागि सरकारबाट सहयोग भएन भनेर भन्न चाहन्नौं । यसमा सरकारले जिम्मेवारी सोच्नपर्छ । तर हामी निरन्तर सेवामा समर्पित चाहन्छौं ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ७ : ५६ बजे