काठमाडौं । वैदेशिक रोजगार विभागले आर्थिक बर्ष ०८१/०८२ को वार्षिक प्रगतिको समीक्षा, सुधारको अवस्था र आगामी कार्यदिशा लगायत सार्वजनिक गरेको छ ।
शुक्रबार काठमाडौं पत्रकार सम्मेलनको आयोजना गर्दै विभागले उक्त विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरण अनुसार विभागको आर्थिक वर्ष २०८१÷२०८२ असार मसान्त सम्मको शाखागत प्रगतिमा श्रम स्वीकृतिको सेवा प्रवाहलाई ‘वर्क पर्मिट अन द सेम डे’ को मान्यता अनुसार रितपूर्वकको अनलाइन दरखास्त फारम प्राप्त भए पश्चात चेकजाँच गरी आवेदन दिएकै दिन स्वीकृति प्रदान गर्ने व्यवस्थालाई पुर्ण रुपमा कार्यान्वयनमा ल्याइएको छ ।
रित नपुगेको अनलाइन दरखास्तको हकमा रिमार्कसहित आवश्यक कागजात पेश गर्न तत्कालै एसएमएस पठाउने साथै रितपूर्वकका कागजात पेश भएको खण्डमा तत्काल श्रम स्वीकृति दिने गरिएको छ ।
प्रत्येक दिन हरेक युजरबाट भएको काम कारवाहीको प्रतिबेदन तयार गरी विश्लेषण गर्ने गरिएको र प्रणाली संचालकले स्वीकृत गरेका तथा अस्वीकृत गरेका आवेदनको विवरण विश्लेषण गरी पृष्ठपोषण प्राप्त गर्ने गरिएको छ भने विचौलिया मुक्त गरी शुन्य सहनशीलताको नीतिलाई विभागले पूर्ण रुपमा अंगीकार गरेको छ ।
यस्तै, गत आर्थिक वर्षमा श्रम स्वीकृति लिनेको कुल संख्याः ८,३९,२६६ रहेका छन् जसमा पुरुषः ७,४४,८११ र महिलाः ९४,४५५ रहेका छन् भने गत आर्थिक वर्षमा सबैभन्दा बढि मानिस गएका १० गन्तव्य मुलुकहरु युएइ, साउदी अरेयिबा, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, कोरिया, कोरेसिया, बहराइन रहेका छन् ।
वैदेशिक रोजगारीको विभिन्न क्षेत्रमा उत्पन्न समस्या तथा गुनासोहरू तत्काल सुन्ने गरिएको छ भने पीडितको गुनासो सुन्ने एवं व्यवसायीलाई र पीडितलाई सँगै राखेर छलफल गरी मिलापत्रमार्फत पीडितलाई राहतसहित समस्याको शिघ्र समाधान गर्ने गरिएको छ । राहत सम्बन्धी पुराना कुनै पनि उजुरी र गुनासाहरू फर्छयौट हुन बाँकी रहेको अवस्था छैन ।
पीडितहरुको गुनासो सुनुवाइको लागि सिधै महानिर्देशक लगायतका जिम्मेवार अधिकारी समक्ष तुरन्त सम्पर्क गर्न विभागका अधिकारीहरुको सम्पर्क नम्बर सार्वजनिक गरि सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
पछिल्ला दिनहरुमा वैदेशिक रोजगार विभागको पीडितमैत्री कार्य व्यवहार र शैलीले कतिपय पीडितहरूले न्याय पाए पश्चात विभागको कार्यशैलीप्रति प्रशंसा गरिएको पनि विभागले जानकारी दिएको छ ।
विभागका योजनाहरुमा वैदेशिक रोरजार सम्बन्धी कानूनलाई संशोधन गरी सरल, सहज र समय सापेक्ष बनाउने, वैदेशिक रोजगारीमा जान लाग्ने समय र लागत घटाउने, वैदेशिक रोजगार व्यवस्थापनमा प्रविधिको प्रयोगलाई बढाउन नागरिक सचेतना बढाउने, श्रम स्वीकृतिका तह र चरणलाई घटाउदै लाने, नेपाली श्रमिकको वैदेशिक रोजगारीमा हुने प्रतिस्पर्धात्मक क्षमतालाई बढाउने, नयाँ र आकर्षक श्रम गन्तव्य मुलुकमा पँहुच, दुई पक्षीय संझौता र सीपमूलक जनशक्तिको प्रस्थानमा जोड दिने, वैदेशिक रोजगार सम्बन्धी कसूरको अनुसन्धान र तहकिकातमा जोड दिने, कानूनको पालना र कार्यान्वयनमा जोड दिने र अनुगमनलाई थप नियमित, व्यवस्थित र प्रभावकारी बनाई अनुचित क्रियाकलापलाई नियन्त्रण गर्ने रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया