Logo

विशेष

श्रावणको रौनक : लगनखेल बजार क्षेत्र भीडभाड, मेहेन्दी लगाउन अफर



ललितपुर । श्रावणको सुरुवातसँगै ललितपुरको लगनखेल बजार र टंगल क्षेत्रमा किनमेल गर्ने महिलाहरुको भीड लागेको छ । श्रावणको पहिलो दिनलाई विशेषगरी ‘हरियो महिना’ का रूपमा मनाउने नेपाली परम्परामा महिलाहरू हरियो कपडा, चुरा र हातमा मेहेन्दी लगाएर श्रृंगारमा व्यस्त देखिएका छन् ।

श्रावण सुरु हुने अघिल्लो हप्तादेखि नै बजारमा किनमेलको चहलपहल सुरु हुन्छ । विशेषगरी महिलाहरू हरियो कुर्ता, चुरा र मेहेन्दी किन्ने क्रममा देखिन्छन् । यस्तै दृश्य असारको अन्तिम दिन लगनखेल बजारमा पनि देखिएको थियो । टंगलस्थित दुर्गा आर्केटमा श्रावणलक्षित अफरले ग्राहकलाई आकर्षित गरिरहेको छ ।

दुर्गा आर्केटमा सञ्चालन भइरहेको विशेष अफर अनुसार, पाँच सय रुपैयाँसम्मको सामान खरिद गर्दा एक हातमा र एक हजारभन्दा माथिको सामान किन्दा दुबै हातमा मेहेन्दी निःशुल्क लगाइने व्यवस्था गरिएको छ । यो अफरले महिलामाझ निकै चर्चा कमाएको छ र व्यापार पनि बढेको देखिन्छ ।

पसल बाहिर बसेर ग्राहकलाई बोलाउँदै गरेका सनफ्लो र्यापर यग्यले भने, ‘श्रावण महिनालाई लक्षित गर्दै अफर ल्याएका छौं । ग्राहकलाई बोलाएर सेवा दिन पाउँदा रमाइलो लागिरहेको छ ।’ उनका अनुसार पुरुषहरू पनि महिला परिवार सदस्यका लागि किनमेल गर्न आउने गरेका छन् ।

दुर्गा आर्केटभित्र चहलपहल बाक्लो छ । कोही मिहेन्दीको पालो कुर्दै छन् भने कोही मेहेन्दी लगाइरहेका छन् । कोही चुरा र कपडा छान्नमै व्यस्त छन् । मेहेन्दी लगाइरहेकि खुशी ठाकुर भन्छिन्, ‘पहिलो वर्षमै अफर राम्रो भयो । अर्को वर्ष अझ विशेष योजना बनाउने सोच छ ।’

त्यस्तै, हरियो कुर्ता किनेर मिहेन्दी लगाइरहेकी विपना गिरी भन्छिन्, ‘यो अरु देखासिकी होइन, रहरले लगाइन्छ । साउनको हरियाली निकै मनपर्छ ।’ उनी जस्ता धेरै महिला र किशोरीहरू यो अफरमा आकर्षित भएका छन् ।

पसलमा काउन्टर हेर्दै गरेकी अन्जु पोखरेलका अनुसार, ‘हाम्रो पसलमा श्रावण सुरु भएदेखि ग्राहकको भीड छ । अफरले गर्दा अझ बढेको छ । मुख्य ग्राहक महिलाहरूको समूह नै हो ।’ उनका अनुसार, व्यापार राम्रो भएकाले आगामी वर्ष अझ प्रभावकारी अफर ल्याउने योजना रहेको छ ।

श्रावणको श्रृंगार र उल्लास अब शहरमै सीमित छैन । गाउँघरमा पनि महिलाहरूले मेहेन्दी, चुरा र हरियो पोशाक लगाएर यो महिनालाई विशेष बनाइरहेका छन् । हरियालीको प्रतिक श्रावण नेपाली समाजमा साँस्कृतिक जागरण र व्यवसायिक अवसर दुबै ल्याउने गरेको देखिन्छ ।

आज साउने संक्रान्तिमा हरियालीमा देखिन रुचाउने महिलाहरुले किनमेल गरेको छ । यसले व्यापारलाई पनि मनग्य आम्दानीमा बदलेको पाउन सकिन्छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  १२ : ०२ बजे