Logo

समाचार

चितवनको भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने



चितवन । चितवनस्थित भरतपुर अस्पताल परिसरमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ। केन्द्र स्थापनाका लागि भरतपुर अस्पताल तथा नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थबीच सोमबार सम्झौता भएको छ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा. डा. कृष्ण प्रसाद पौडेल, नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थका कार्यकारी निर्देशक डा. श्रीधर पौडेल तथा कार्यसमिति सदस्य डा. खगेन्द्र काफ्लेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार केन्द्रमा अन्तर्राष्ट्रिय स्तरको नवीन प्रविधियुक्त, सुलभ, गुणस्तरीय तथा एकीकृत मानसिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। केन्द्रले उपचारका साथै जनचेतना अभिवृद्धि, अनुसन्धान, अधिकारमा आधारित सेवा प्रवाह तथा क्षमता विकासमा समेत ध्यान दिनेछ।

डा. श्रीधर पौडेलका अनुसार हाल नेपालमा मानसिक समस्या भएका मध्ये केवल १५–२० प्रतिशतले मात्र आवश्यक सेवा प्राप्त गरिरहेका छन्। साथै, अधिकांश सेवा काठमाडौं उपत्यकाभित्र सीमित भएकाले चितवनमा स्थापन हुने केन्द्रले उपत्यका बाहिरको पहुँच विस्तार गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ।

अस्थायी लागत अनुमान अनुसार केन्द्र स्थापनाका लागि ५ करोड रुपैयाँ आवश्यक पर्नेछ। यसमा नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले ५० प्रतिशत, भरतपुर अस्पतालले २५ प्रतिशत तथा बाँकी २५ प्रतिशत विभिन्न दाताबाट जुटाइने अस्पताल विकास समितिका अध्यक्ष पौडेलले जानकारी दिए। केन्द्र डेढदेखि दुई वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ।

प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा. डा. कृष्ण प्रसाद पौडेलले भरतपुर अस्पतालमा हाल विभागीय रुपमा मानसिक स्वास्थ्य सेवा प्रदान हुँदै आएको भए पनि छुट्टै केन्द्रको आवश्यकता रहेकाले यो पहल गरिएको बताए।

कोभिड–१९ महामारीपछि मानसिक चिन्ता, डिप्रेशन र आत्महत्याका घटनाहरूमा वृद्धि हुँदै गइरहेका बेला नयाँ केन्द्रले समुदायस्तरमा जनचेतना फैलाउन र प्रभावकारी सेवा विस्तार गर्न सहयोग पुग्ने दुवै संस्थाले जनाएका छन्।

प्रकाशित मिति : ३२ असार २०८२, बुधबार  ११ : ४७ बजे