काठमाडौं ।नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड दोस्रो सिजनको नेपाल प्रिमियर लिग (NPL) का लागि काठमाडौं गोर्खाज क्रिकेट टोलीको शीर्ष प्रायोजक (Title Sponsor) बन्ने भएको छ।
यस सम्बन्धी सम्झौतामा वर्ल्डलिंकका कार्यकारी निर्देशक मनोज कुमार अग्रवाल र काठमाडौं गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाले औपचारिक रूपमा हस्ताक्षर गरेका छन्।
सम्झौता कार्यक्रममा वर्ल्डलिंकका कार्यकारी निर्देशक अग्रवालले नेपालमा क्रिकेट सबैभन्दा लोकप्रिय खेल भएको उल्लेख गर्दै ग्रासरुट तहदेखि गर्दै आएको समर्थनलाई अब व्यावसायिक तहमा विस्तार गर्न पाउनु खुशीको विषय भएको बताए। “खेलको दीर्घकालीन प्रगतिका लागि निजी क्षेत्रको सहकार्य आवश्यक छ,” उनले भने।
त्यसैगरी, काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक सिरोहियाले लिगको सफलताको आधार साझेदार संस्थाहरू भएको बताउँदै, वर्ल्डलिंकजस्तो प्रतिष्ठित ब्रान्डसँगको सहकार्य टोलीका लागि महत्वपूर्ण भएको बताए।
आगामी सिजनका लागि काठमाडौं गोर्खाजले नेपाल राष्ट्रिय टोलीका पूर्व प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। साथै, टोलीले करण केसी (मार्की खेलाडी) सहित भिम सार्की, शाहब आलम, रशिद खान, दिपेश कँडेल र प्रतिक श्रेष्ठलाई रिटेन गरिसकेको छ।
काठमाडौं गोर्खाज र वर्ल्डलिंकबीचको यस साझेदारीले नेपालमा फ्रेन्चाइज क्रिकेटको स्तर उकास्न तथा राष्ट्रिय खेलको दीर्घकालीन विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ।
प्रतिक्रिया