Logo

प्रदेश

छाउगोठमा बसेकी महिलाको सर्पको टोकाइबाट मृत्यु, सांसदद्वारा प्रभावकारी पहलको माग



कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजीको छाउगोठमा बस्दा सर्पले टोकेर ज्यान गएको घटनाप्रति संघीय सांसद तारा लामा तामाङले गम्भीर चासो व्यक्त गरेका छन्।

आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमाले सांसद तामाङले छाउपडी प्रथा सामाजिक मात्र नभई मानव अधिकारको गम्भीर उल्लंघन भएको उल्लेख गर्दै यसको अन्त्यका लागि सरकारलाई ठोस र प्रभावकारी कदम चाल्न आग्रह गरे।

तामाङले आउजीको परिवारको आर्थिक अवस्था कमजोर रहेको, श्रीमान भारतमा रोजगारीमा रहेको र तीन सन्तान पनि नाबालक रहेको जानकारी गराउँदै पीडित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउन सरकारसँग माग गरे।

उनले छाउपडी उन्मूलनका लागि स्थानीय सरकार, समुदाय तथा सरोकारवाला निकायबीच समन्वय गरी कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। “छाउपडीजस्तो अमानवीय प्रथाको अन्त्यका लागि सबै पक्ष एकजुट हुन जरुरी छ,” तामाङले भने।

सरकारले जनचेतनामूलक कार्यक्रमलाई अझ प्रभावकारी र व्यवहारमा लागु हुने गरी अगाडि बढाउनुपर्ने सुझाव पनि सांसद तामाङले राखे।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ८ : १९ बजे