काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग सम्बन्धित भनिएको ‘घुस लेनदेन प्रकरण’मा आफ्नो नाम जोडिएको भन्दै खेम पुन र सुजन लामाले असहमति जनाएका छन्।
दुवै जनाले सोमबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आफूहरू उक्त प्रकरणमा संलग्न नरहेको स्पष्ट पारेका छन्। उनीहरूले सञ्चारमाध्यममा सार्वजनिक भएको अडियो क्लिप नक्कली भएको दाबी गर्दै फरेन्सिक परीक्षणको माग गरेका छन्।
पुन र लामाको आरोप छ कि प्रविधिको दुरुपयोग गरेर अडियो तयार पारिएको र त्यसको माध्यमबाट मन्त्री गुप्ता तथा उनीहरूलाई बदनाम गरिने प्रयास गरिएको छ। उनीहरूले यसलाई संगठित रूपमा योजनाबद्ध रूपमा फैलाइएको हल्ला भनेका छन्।
पुनले आफू गण्डकी प्रदेशको भूमि आयोगको अध्यक्षका लागि एमालेबाट सिफारिसमा परे पनि कुनै आर्थिक लेनदेनमा संलग्न नभएको दाबी गरेका छन्। उनले विज्ञप्तिमा भनेका छन्, “निम्न वर्गको व्यक्ति भएको नाताले पैसा तिरेर पद प्राप्त गर्ने हैसियत छैन, न चाहना नै।”
त्यस्तै, सुजन लामाले मन्त्री गुप्तासँग भेटघाट कार्यक्रमबाहेक कहिल्यै नभएको दाबी गरेका छन्। “महासंघको महासचिवका नाताले मन्त्री मातहतको कार्यक्रममा दुई पटक जति भेट भए पनि कुनै नियुक्ति वा सरुवाको सन्दर्भमा कुनै कुराकानी वा लेनदेन भएको छैन,” लामाको भनाइ छ।
दुवै जनाले यदि अनुसन्धानबाट दोषी ठहरिए जस्तोसुकै कानुनी सजाय भोग्न तयार रहेको उल्लेख गरेका छन्।
प्रतिक्रिया