Logo

शिक्षा

जनता बहुमुखी क्याम्पसको भारतका दुई विश्वविद्यालयसँग शैक्षिक सम्झौता



इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा अवस्थित कोशी प्रदेशकै अग्रणी सामुदायिक क्याम्पस जनता बहुमुखीले भारतका दुई प्रतिष्ठित विश्वविद्यालयहरूसँग पाँच वर्षे शैक्षिक सम्झौता गरेको छ ।

क्याम्पसले हरियाणाको बाबा मस्तनाथ विश्वविद्यालय र राजस्थानको जेजेटी विश्वविद्यालयसँग असार २४ र २५ गते औपचारिक सम्झौता गरेको सोमबार पत्रकार सम्मेलनमार्फत जनाइएको छ ।

पत्रकार सम्मेलनमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले क्याम्पसको इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय शैक्षिक सम्झौता भएको जानकारी दिए । 

उनले,‘शिक्षामार्फत सहकार्य, सहकार्यमार्फत समृद्धि’ भन्ने मूल मन्त्रका साथ सम्झौता गरिएको उल्लेख गर्दै क्याम्पसलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने अपेक्षा व्यक्त गरेका छन् ।

सम्झौताको मध्यस्थकर्ता तथा प्रस्तुतकर्ता डा.वेणुप्रसाद सिटौलाले करिब एक वर्ष अगाडि क्याम्पसको तर्फबाट भारतीय विश्वविद्यालयहरूसँग सम्झौताको पहल गरेका थिए ।

सात प्रमुख विश्वविद्यालयमा प्रस्ताव पठाइएपछि पाँचले सहमति जनाएका थिए । तीमध्ये दुईसँग औपचारिक सम्झौता सम्पन्न भएको हो ।

दुवै विश्वविद्यालयसँग भएको सम्झौताले विद्यार्थी तथा प्राध्यापक आदान–प्रदान, संयुक्त अनुसन्धान, पाठ्यक्रम सुधार, अन्तर्राष्ट्रिय सेमिनार तथा कार्यशाला, सांस्कृतिक सहकार्य, युथ इनोभेसन समिट, र दीगो विकास कार्यक्रमहरूलाई समेट्नेछ ।

सम्झौताका क्रममा बाबा मस्तनाथ विश्वविद्यालयका कुलपति डा.एचएल वर्मा, रजिष्ट्रार डा.विनोद कुमारसहित वरिष्ठ पदाधिकारीहरूको टोली सहभागी थियो । त्यसैगरी जेजे टी विश्वविद्यालयतर्फबाट कुलपति डा.देवेन्द्र सिंह ढुलसहित प्रमुख पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

क्याम्पसको तर्फबाट सञ्चालक समितिका अध्यक्ष विकास केसी, भर्ना संयोजक चन्द्रप्रसाद भट्टराई, सहायक क्याम्पस प्रमुख राजन भट्टराई, स्ववियु सभापति सहदेव काफ्ले, बीआइसीटी प्रमुख मन्दीप भट्टराई र डा. सिटौला सहभागी थिए ।

पत्रकार सम्मेलनमा क्याम्पसले पछिल्ला दुई वर्षमा हासिल गरेका उपलब्धिहरू पनि सार्वजनिक गरिएको थियो । अध्यक्ष केसीका अनुसार इटहरी उपमहानगरको सिफारिस र सहरी विकास मन्त्रालयको पहलमा राष्ट्रिय योजना आयोगबाट बहुवर्षीय योजना अन्तर्गत छात्रावास निर्माणका लागि साढे चार करोड रुपैयाँको बजेट स्वीकृत भइसकेको छ । हाल पहिलो चरणमा एक करोड ४२ लाख रुपैयाँको निर्माण कार्य सुरु गर्न लागिएको जानकारी दिइयो ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ४ : ४० बजे