नेपाली महिला क्रिकेटर पूजा महतो वीराको आजीवन ब्रान्ड एम्बासडर घोषित
काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान पूजा महतो ‘वीरा एजुकेसन कन्सल्टेन्सी’को आजीवन ब्रान्ड एम्बासडर बनेकी छन्। वीराले सोमबार आयोजना गरेको विशेष कार्यक्रममा उक्त घोषणा गरिएको हो।
वीराकी संस्थापक एवं प्रबन्ध निर्देशक रेश्मा महर्जन र पूजाबीच ब्रान्ड साझेदारीसम्बन्धी सम्झौता भएको हो। सम्झौता कार्यक्रममा संघीय सांसद मनीष झा, नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह र इक्यान अध्यक्ष शेषराज भट्टराईको उपस्थिति रहेको थियो।
महर्जनले महिला सशक्तीकरण र क्रिकेट प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले पूजालाई दीर्घकालीन साथ दिने बताइन्। उनले भनिन्, “क्रिकेट खेलुन्जेल यो साथ रहनेछ। पूजालाई हामीले आजीवन ब्रान्ड एम्बासडर बनाएका छौँ, थप १५ वर्षसम्म खेल्दा चिन्ता नगर्नू।”
पूजा महतो गत वर्ष नेपालको यू-१९ टोलीको कप्तानका रूपमा आईसीसी यू–१९ विश्वकप खेलेकी थिइन्। हालै बैंककमा सम्पन्न छनोट चरण पार गर्दै नेपाली महिला टोली विश्वकप छनोटमा पुगेको छ। पूजा राष्ट्रिय टोलीबाट ३७ खेलमा ४३८ रन बनाइसकेकी छन् भने २७ विकेट लिइसकेकी छन्।
सम्झौतापछि प्रतिक्रिया दिंदै पूजाले भनिन्, “महिला क्रिकेट खेलाडीले खासै ठूलो अवसर पाउँदै नपाएको अवस्थामा यो साथ मेरो लागि निकै ठूलो हो। शिक्षा र क्रिकेट एकसाथ अघि बढ्नुपर्छ भन्ने सोचका कारण यस्तो साथको आवश्यकता थियो।”
वीराको यो कदमले नेपाली महिला खेलकुदमा दीर्घकालीन लगानीको सकारात्मक सन्देश दिएको छ।
प्रतिक्रिया