Logo

समाचार

महिला अधिकारका लागि महिलाहरु नै लड्नुपर्छ : उपसभामुख



काठमाडौँं । उपसभामुख इन्दिरा राना मगरले महिलाका मुद्दाहरुमा महिलाले नै विरोध गर्ने गरेको बताएकी छिन् ।

२२१ औँ भानुजयन्तीका अवसरमा प्राध्यापक वन्दना मिश्र (मधु) को कृति, कविता संग्रह ‘अन्नप्रासन’ विमोचन समारोहमा बोल्दै उनले महिलाका मुद्दामा सबै एक हुनुपर्ने औंल्याइन् ।

‘हामी अधिकारको कुरा गछौँ, एकल महिलाको कुरा गर्छौ । अब कुरा गरेर मात्र नभइ महिला एक हुनपर्ने बेला आएको छ । महिलाहरुले आफ्नो अधिकारको लागि आफै लड्नुपर्ने र त्यो क्षमता आफैले वृद्धि गर्नुपर्छ,’ उनले भनिन् ।

‘सासु बुहारी मिलेर अघि बढ्दा पुरुषको नै चाँहिदैन जस्तो लाग्छ । महिलाहरु पीडित नै हुन पर्दैन् । त्यसैले हामी सबै एक हुनुपर्छ,’ उनले अगाडि भनिन्,‘ नेपालमा जन्मेपछि हरेकले नेपाली नागरिता पाउनैपर्छ । आमाकै नामबाट पनि नागरिता पाउने अहिलेको कानुन ठिक छ ।’

३६ बर्षको उमेरमा नेपाली सिकेर नेपाली कविता संग्रह

काठमाडौं । साहित्यका प्राध्यापक बन्दना मिश्र ‘मधु’को ‘कविताको अन्नप्राशन’ विमोचन गरिएको छ ।

आइतबार काठमाडौंमा आयोजित एक समारोहकाबीच उपसभामुख इन्दिरा राना मगरले उक्त कविता संग्रहको विमोचन गरेकी हुन् । संग्रहमा १०१ वटा कविता समावेश छन् ।

प्राध्यापक बन्दना मिश्र ‘मधु’ सप्तरीको राजबिराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसमा इतिहास विभागको शिक्षक हुन् । कवितामा विशेष रुची राख्ने मिश्रकोे यो पहिलो प्रकाशित कृति हो ।

सामूहिक रुपमा भने मैथिली भाषामा कविता यसअघि नै प्रकाशित छ । मिश्रको जन्म भारतको बिहारमा भएको र नेपालमा विवाह भइसकेपछि कर्मथलो नेपाल बनेको हो ।

उनले ३६ वर्षको उमेरमा नेपाली सिकेकी हुन् । नेपाली भाषाप्रति यति प्रेम थियो कि गोरखापत्र पढ्दै, नेपाल टेलिभिजन सुन्दै उनले नेपाली भाषा राम्रो बनाइन् ।

मिश्रले महात्मा गान्धीको आत्मबृत्तान्त र चर्चित बंगाली उपन्यासकार शरत चन्द्र चट्टोपाध्यायको देवदासको मैथिलीमा अनुबाद गरिसकेकी छिन् ।

मोफसलमा बसेर साहित्य सिर्जनामा तल्लिन रहेपनि उनले चर्चा र नाम कहिल्यै नखोजेकाले त्यही भावना र मर्म बुझेर उनकी बुहारी रोश्ना सुवेदी मिश्रले कविताको अन्नप्राशन लाई पुस्तकका रुपमा ल्याउने जमर्को गरेकी हुन् ।

उनले हालसम्म फूटकर १ हजार भन्दा बढी लेख रचना प्रकाशन गरेकी छिन् । हाल सप्तरीको राजबिराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा उनी इतिहास विभागको शिक्षक हुन् ।

मातृभाषा हिन्दी भएता पनि उनले नेपाली र मैथिली भाषा सिकेकी छिन । विशेषगरी पर्याबरण, जल, महिला हिंसा जस्ता विषयवस्तुमा कलम चलाउने उनी मैथिली भाषामा कथा संग्रह, लोक गीत, वाल कथा, वाल कविता लेखेकी छिन् ।

मैथिली महिला परिषद् राजविराजको सल्लाहकार रहेकी उनी महिला हिंसाका विरुद्धका बिभिन्न अभियानमा जोडिदै आएकी छिन् ।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  ९ : ०७ बजे