काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का असन्तुष्ट पक्षका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीले गरेको निर्णयविरुद्ध उनीहरु आयोगमा निवेदन बुझाउन गएका हुन् ।
संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको लक्ष्यसहित ‘जनआन्दोलन परिचालन समिति’ गठन गरेर आन्दोलनको अगुवाइ गरिरहेका नवराज सुवेदीले आफूलाई राप्रपाको अनुशासन आयोगको अध्यक्ष पदबाट हटाउने निर्णय बदर गर्न माग गर्दै आयोगमा निवेदन दिएका हुन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीविरुद्ध असन्तुष्ट समूह आइतबार आयोगमा उजुरी दिन पुगेको हो । पार्टीको अनुशासन समिति संयोजकबाट हटाइएका सुवेदी, प्रवक्ताबाट हटाइएका सगुन सुन्दर लावतीसहित पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशमशेर राणा लगायतका नेता आयोग पुगेका हुन् ।
सुवेदीले आफ्नो पार्टीभित्र भएको अन्यायविरुद्ध आवाज उठाउन आयोग पुगेकोे बताएका छन् । उनले आफूहरुको यो कदम पार्टी विभाजनका लागि नभएको पनि प्रतिक्रिया दिए ।
सुवेदीले अहिले देखा परेको विवादले पार्टी नफुट्ने बताउँदै विधानविरीत आफूलाई हटाइएकोमा आफ्नो असन्तुष्टि रहेको दाबी गरे । सुवेदीले आफूलाई अनुशासन समिति अध्यक्षबाट हटाउने निर्णय केन्द्रीय समितिबाट नभइ अध्यक्षबाट मात्रै भएको पनि बताए ।
‘मैले राप्रपा सचिवालयमा सोधें–मलाई अध्यक्षजीले अनुशासन समिति अध्यक्षबाट हटाउनु भएको हो भनेर, सचिवालयले हो भनेपछि मैंले अध्यक्षजीसँग कुरा गरेको छैन । तर यस्तो विवादले पार्टी भने फुट्दैन । निर्णय गर्नुअघि मलाई सोधिएको छैन, मलाई चिठी दिएको पनि छैन । मिडियाबाट थाहा पाएँ कि उहाँले मलाई निकालेर अर्को मानिस ल्याउनु भयो भन्ने,’ उनले भने, । पार्टीभित्र भएको अन्यायका कारण उजुरी दिएको उनको भनाइ छ ।
उनले आफूले अनुशासन विपरीत काम नगरेको पनि बताए । पार्टी अझै बलियो होस् र षड्यन्त्र नहोस् भनेर निर्वाचन आयोगमा उजुरी दिएको उनले बताए । उनले राजसंस्था पुनस्र्थापनाको आन्दोलन नहराएको पनि बताए ।
प्रतिक्रिया