रामेछाप । मन्थली नगरपालिकाले आर्थिक वर्ष २०८१-८२ मा सञ्चालन गरेका सेवा, विकास र सुशासनसम्बन्धी कार्यक्रमको समग्र समिक्षा गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
नगरसभाको हलमा आयोजित कार्यक्रममा नगर प्रमुख लव श्रेष्ठले ‘राम्रा कामलाई समर्थन र सुधार आवश्यक पक्षमा खबरदारी’को आग्रह गर्दै नागरिक सहभागितामार्फत सुशासनको अभ्यास सुदृढ बनाउनुपर्ने धारणा राखे ।
उनले भने, ‘सबै कुरा एकले अर्कालाई आरोप लगाएर होइन, सहकार्यबाट मात्र समाधान र विकास सम्भव हुन्छ। घोषणापत्रका सबै विषय पुरा नभए पनि त्यसैको बाटोमा अघि बढ्न हामी प्रयत्नशील छौं ।’
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाले नगरपालिकाले आर्थिक वर्षभर सञ्चालन गरेका कार्यक्रम, सेवा र योजनाको विस्तृत विवरण प्रस्तुत गर्दै बजेट कार्यान्वयन र सेवा प्रवाहको अवस्थाबारे जानकारी दिए ।
नगरपालिकाले आन्तरिक आम्दानीतर्फ ३ करोड ८५ लाख रुपैयाँ लक्ष्य राखेकोमा ३ करोड ७७ लाख ५७ हजार ४१७ रुपैयाँ संकलन गरी ९८ प्रतिशत लक्ष्य पुरा गरिएको जानकारी दिइयो। स्वीकृत कुल बजेटमध्ये समग्र खर्च ८५.८८ प्रतिशत रहेको छ ।
चालु वर्षमा ६२९ वटा योजनामध्ये ५९६ वटा सम्झौतामा पुगेका छन् भने ५९२ वटा योजनाको भुक्तानी सम्पन्न भइसकेको छ। तीमध्ये २५ वटा बहुवर्षीय योजना ठेक्का प्रणालीबाट कार्यान्वयन भएका छन् ।
विपद् व्यवस्थापनतर्फ बाढीपहिरोबाट अवरुद्ध सडक तत्काल खुलाउने, त्रिपाल, ग्याविन जाली, खानेपानी पाइपलगायत राहत सामग्री वितरण गरिनुका साथै संघीय सरकारमार्फत विनियोजन भएको ५० लाख रुपैयाँबाट पुनःनिर्माणका लागि २४ वटा योजना सञ्चालन गरिएको जानकारी गराइयो ।
२०७९ सालदेखि बालमैत्री स्थानीय शासन कार्यक्रम कार्यान्वयनमा रहेकामा २०८२ जेठ २८ गते नगरका सबै १४ वडालाई बालमैत्री वडाको रूपमा घोषणा गरिएको छ । नगरस्तरमा पूर्ण बालमैत्री नगर घोषणा प्रक्रिया अन्तिम तयारीमा रहेको छ ।
त्यस्तै, १४ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गरी अपाङ्गता परिचयपत्र पुनरावलोकन कार्यक्रम गरिएको छ । स्वास्थ्य सेवातर्फ नगर अस्पतालमा दन्त सेवा, आँखा सेवा, फिजियोथेरापी सेवा थप गरिएका छन् भने अस्पताललाई प्रदेशस्तरीय अस्पतालको रूपमा स्तरोन्नति गर्ने प्रयास भइरहेको बताइएको छ ।
नगरमा वर्षभर ५७,८०० जनाले उपचार सेवा लिएका छन् भने फोक्सो परीक्षणमा ५१२ जनामध्ये ६ जनामा क्षयरोग पत्ता लागेको जानकारी दिइयो ।
कृषि र पशुपालन क्षेत्रलाई व्यावसायिक बनाउन गाईपालन, बाख्रापालन, च्याउ खेती, फलफूल तथा तरकारी प्रवद्र्धन कार्यक्रम सञ्चालन भएका छन्। ‘एक वडा एक उत्पादन’ कार्यक्रम १० वडामा कार्यान्वयनमा रहेको छ। डेरी उद्योगमा संलग्न ८३९ जना किसानलाई प्रति लिटर २ रुपैयाँ ५० पैसा अनुदान दिइएको छ ।
रेबिज नियन्त्रणका लागि २५३ वटा छाडा कुकुरको स्थायी बन्ध्याकरण तथा खोप कार्यक्रम गरिएको छ। शिक्षा क्षेत्रमा शिक्षक दक्षता अभिवृद्धि, क्ष्ऋत् प्रयोग, गणित शिक्षामा नविन पहल, पोषण अभिवृद्धि कार्यक्रम, छात्रवृत्ति वितरणलगायतका कार्यक्रम सञ्चालन भएको छ ।
विपन्न समुदायका १५४ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। वैदेशिक रोजगार पीडितका ४५ केसमध्ये २२ केस समाधान भएको र ठगिबाट ७ लाख ४५ हजार रुपैयाँ असुल गरिएको विवरण सार्वजनिक गरियो ।
महिला हिंसामा परेका २२ जनालाई सेफ हाउसमा राखी अस्थायी आश्रय, उपचार तथा परिवार पुनर्मिलन गराइएको छ। मानसिक स्वास्थ्य, बाल संरक्षण, सामाजिक सुरक्षा भत्ता, अपाङ्गता सेवा, नागरिकता सिफारिस, जन्म–मृत्यु दर्तालगायत सेवा नियमित रूपमा उपलब्ध गराइएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ४ करोड ६५ लाख रुपैयाँको बजेट स्वीकृत गरिसकेको छ। नगर प्रमुख श्रेष्ठले आगामी वर्षका प्राथमिकता प्राप्त योजनाबारे जनतालाई जानकारी गराउँदै ती कार्यान्वयनमा नागरिकको सुझाव र सहभागिता अपरिहार्य रहेको बताए ।
बालमैत्री नगर घोषणा, अस्पताल स्तरोन्नति, फोहोरमैला व्यवस्थापन, प्लाष्टिकमुक्त नगर अभियान, दुग्ध–मासुमा आत्मनिर्भरता, अनलाइन प्रणाली विस्तार, शिक्षा सुधारलगायतका विषयलाई नगरको भावी कार्यदिशामा समावेश गरिएको छ ।
पाँच वर्षे कार्यकालको अन्तिम वर्ष प्रवेश गरिरहेको नगर नेतृत्वले पारदर्शिता, जवाफदेहिता र उत्तरदायी शासनको अभ्यासका लागि सार्वजनिक सुनुवाइलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया