Logo

राजनीति

शाहीको आरोप: ‘राजावादी आन्दोलन राजावादीले नै तुहाए’, नवराज सुवेदीप्रति कडा आलोचना



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राजावादी आन्दोलन राजावादी नेताहरूको कारण असफल भएको बताएका छन्। बुधबार नागरिक फ्रन्टलाइन कार्यक्रममा बोल्दै उनले नवराज सुवेदीलाई “जनताले अब पत्याउँदैनन्” भन्दै कडा आलोचना गरे।

शाहीले राजालाई त्रिभुवन विमानस्थलमा स्वागत गर्ने कार्यक्रमको नेतृत्व आफूले गरेको दाबी गर्दै त्यसबाट सिर्जित जनसहभागिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रभाव पारेको बताए। तर, त्यसपछि नेतृत्वको जिम्मा पुराना तथा निष्क्रिय नेताहरूको हातमा सुम्पिएर आन्दोलन कमजोर पारिएको उनको भनाइ छ।

“एयरपोर्टमा जुन भीड जम्मा भयो, त्यसबाट नेपालका नेता मात्रै होइन, अन्तर्राष्ट्रिय जगत् पनि तर्सियो,” शाहीले भने, “तर त्यसपछि ४०/४५ वर्षअघिका निष्क्रिय व्यक्तिहरूको नेतृत्वमा समिति बनाइयो, जसको जानकारी मलाई र पार्टी अध्यक्षलाई समेत थिएन।”

उनले नवराज सुवेदीलाई आन्दोलन ‘कमान्ड’ गर्न बनाइएको समिति आन्दोलन विफल पार्नै गठन गरिएको आरोप लगाए। सुवेदीलाई आफू चिनेको समेत नभएको उनले स्पष्ट गरे।

शाहीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पनि आलोचना गर्दै उनी शेरबहादुर देउवा र केपी शर्मा ओली जस्तै भएको बताए। “कमल थापा अब नेपाली जनताले हेर्न चाहेका छैनन्,” उनले भने, “जनता सबैलाई एउटै नजरले हेर्छन् — देउवा, ओली, कमल थापा सबै एउटै थैलीका चट्टी हुन्।”

उनले सुवेदी नेतृत्वको समिति राजाले गठन नगरेको दाबीसमेत गरे। “दरबारमा भेट हुँदा मैले त्यो समिति आधिकारिक हो कि होइन भनेर सोध्दा राजाले होइन भन्नुभयो,” शाहीले भने, “तर अर्को दिन सुवेदीलाई लिएर पार्टी अध्यक्ष फेरि दरबार गएका रहेछन् र आफू समिति अध्यक्ष भएको जानकारी गराएका रहेछन्।”

शाहीका यस्ता अभिव्यक्तिले राप्रपाभित्रको आन्तरिक विवाद झनै चुलिएको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ८ : ४१ बजे