Logo

विशेष

बराहक्षेत्र : जहाँ मिथक, मन, र नदी बग्छन् एकै साथ



एक अनुभव, एक आस्था, एक नयाँ गन्तव्य 

सुनसरी । बराहक्षेत्र नाम लिनेबित्तिकै मनमा शान्तिको अनुभूती हुन्छ, कानमा सप्तकोशीको लयात्मक स्वर गुञ्जन्छ, र आँखा अगाडि देखिन्छ — हरियालीले घेरेको, भजनले गुन्जित आस्थामा सजिएको एक धाम । यस पटकको ‘कोशि प्रदेश पर्यटन वर्ष २0८२’ लाई अवसर मानेर म, पूर्वी नेपालको यो आध्यात्मिक र प्राकृतिक स्वरुपले भरिपूर्ण बराहक्षेत्रमा चुम्बकले ताने झैं तानिएर पुगेँ  ।

पहिलो पाइलाः बास्ना, भजन र विश्वास

धरानबाट करिब २५ किलोमिटर सडक यात्रा । सडक अझै कतै कतै धुलाम्य छ, तर मन भने बाटोभरी कल्पनामा रंगिन थालिसकेको थियो । मन्दिर प्रवेशद्वार छिर्दा नै धूप–अगरबत्तीको सुगन्धले आत्मामा शान्तिको स्पर्श ग¥यो । हातमा मालासहित भजन गाइरहेका वृद्ध, नाकसम्मै सिन्दुर पोतेका महिला, र शिशु काँधमा बोकेका युवा बाबु — सबै आ–आफ्नै भावमा तल्लिन ।

“बराह भगवान यहाँ विराजमान हुनुहुन्छ,’ मन्दिर परिसरमा भेटिएका एक सन्यासी भन्छन्, “यो केवल मन्दिर होइन, यो त हाम्रो आध्यात्मिक मान्यताको जिउँदो इतिहास हो ।” 

जहाँ वराह अवतारले धर्ती उठाए 

बराहक्षेत्रको मूर्तिले कथा बोल्छ । कालो ढुङ्गाबाट बनेको त्यो मूर्तिमा भगवान वराह पृथ्वी देवीलाई बोकेर उभिएका छन् । त्यो दृश्यले धार्मिक भन्दा बढी भावनात्मक ऊर्जा दिन्छ । म त्यहाँ केही समय चुप लागेर बसेँ—न भजन गाइरहेँ, न प्रार्थना गरेँ । तर मनमा एक शान्ति थियो, जुन शब्दभन्दा परको अनुभूति थियो ।

प्रकृतिको गहिरो काखमा आध्यात्मिकता

मन्दिर नजिकै बगिरहेको सप्तकोशी नदी… कहिले चुपचाप, कहिले लहरसँग उफ्रिएको । किनारमा माझीहरू जाल फ्याँकिरहेका थिए, बालबालिका रमाइरहेका थिए, र त्यो शान्त चिसो हावा… साँच्चै, बराहक्षेत्रमा प्रकृति आफैं पूज्य लाग्दो रहेछ । यहाँको वातावरणमा एक किसिमको प्राकृतिक मन्त्र छ ।

संस्कृति, समुदाय र चाडको संगम

“हामी माघे संक्रान्तिमा यहाँ नआउँदा अधूरो लाग्छ, “स्थानीय थारू युवतीले भनिन् । मेलामा नाचगान, परम्परागत भजन, भेषभूषा सबै देखिन्छ — एउटा चाड होइन, यो संस्कृतिको उत्सव लाग्छ ।

थारू, ब्राह्मण, मगर, र किरात समुदायहरू यहाँ आ–आफ्ना संस्कार र विश्वास लिएर आउँछन् — र बराहक्षेत्रमा एउटा साझा आस्था बनेर बग्छन् । 

धार्मिक पर्यटनको नयाँ युग

प्रदेश सरकारले अब बराहक्षेत्रलाई ’स्मार्ट तीर्थ क्षेत्र’ बनाउने योजना अघि सारेको छ । सडक विस्तार हुँदैछ, नयाँ होमस्टे खुलेका छन्, र सूचना केन्द्र बनाइएका छन् । पर्यटन वर्ष निर्देशक समिति सदस्य तथा पूर्वका पर्यटन व्यवसायी वासुदेव बराल बराहक्षेत्र÷चतरा धाम धार्मिक र प्राकृतिक हिसाबले आकर्षक गन्तव्य मान्छन् । धरान, विराटनगर र इटहरीबाट एकदिने यात्रामा पुगिने भएकाले पर्यटकहरूको चाप बढ्दैछ । “हामी यहाँको धार्मिकता मात्र होइन, पर्यटक अनुभव पनि समेट्ने प्रयासमा छौं,“ एक स्थानीय पर्यटन व्यवसायीले भने ।  

बराहक्षेत्रः मनको एक विश्राम केन्द्र

यो तीर्थ ठाउँ केवल कथा होइन — यो एउटा जीवन्त अनुभूति हो। यहाँ हरेक ढुङ्गा तपाईंसँग बोल्छ, हरेक बोटले तपाईंको चिन्ता हराउँछ, र हरेक छालले तपाईंलाई भित्रै कतै छोइदिन्छ ।मैले बराहक्षेत्र छोड्ने बेला त्यो चिसो हावाले एकपटक फेरि अनुहार छोयो — सम्झाइदियो, “तिमी कुनै पर्यटक मात्र होइन, आज तिमी पनि यसको एक अंश बन्यौ ।’

बराहक्षेत्र – जहाँ आत्मा बग्छ, समय बिस्तारिन्छ, र तपाईं भित्र–बाहिर एक नयाँ शान्ति पाउनुहुन्छ । यदि तपाईं कहिल्यै बराहक्षेत्र जानुभएको छैन भने — जानुहोस् । केवल हेर्न होइन, अनुभूत गर्न ।

के तपाईंलाई थाहा छ — कतिपटक आँखाले भन्दा, आत्माले देख्नु ज्यादा साँचो हुँदोरहेछ । “बराहक्षेत्र मलाई धार्मिक स्थानको रूपमा थाहा थियो, तर आज त्यो ठाउँ मेरो लागि एउटा ‘अनुभव’ भयो ।”

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १ : ४७ बजे