बैङ्कक । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले मङ्गलबार पदबाट निलम्बन गरेको छ। अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको विषयमा छानबिन सुरु गरेसँगै उनीमाथि अस्थायी प्रतिबन्ध लगाएको हो।
संवैधानिक अदालतले ७–२ को मतान्तरले प्रधानमन्त्री सिनावात्रालाई १ जुलाईदेखि पदमुक्त गर्ने निर्णय सुनाएको हो। अदालतका अनुसार छानबिन पूरा नहुञ्जेलसम्म उनी कार्यवाहक प्रधानमन्त्रीको रूपमा पनि रहन पाउने छैनन्।
सीमा विवादको सन्दर्भमा पेटोङटार्नले कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँग गरेको फोनवार्तामा थाई सेनालाई ‘प्रतिद्वन्द्वी’ र हुन सेनलाई ‘काका’ भनेको लिक भएको रेकर्डिङ सार्वजनिक भएपछि उनीविरुद्ध आलोचना चुलिएको थियो। विपक्षी सांसदहरूले उनलाई सेनाको कमजोरी देखाएको र संवैधानिक नैतिकता उल्लङ्घन गरेको आरोप लगाउँदै कारबाहीको माग गरेका थिए।
यस घटनापछि पेटोङटार्नको पार्टी ‘फेउ थाई’ लाई एक प्रमुख रूढीवादी गठबन्धन साझेदारले त्यागेको छ भने बैङ्ककमा हजारौँले विरोध प्रदर्शन गरेका छन्। पछिल्लो राजनीतिक संकटका बीच राजा महा वजिरालङ्कोर्नले मन्त्रिपरिषद् पुनर्गठनलाई अनुमोदन गरेका छन्। पेटोङटार्नले नयाँ मन्त्रिपरिषद्मा आफूलाई संस्कृति मन्त्री तोकेकी छिन्, तर अदालतको निलम्बनपछि उक्त भूमिका ग्रहण गर्न पाउने वा नपाउनेबारे अनिश्चितता छ।
यही दिन उनका पिता तथा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा पनि बैङ्ककको फौजदारी अदालतमा उपस्थित भएका छन्। सन् २०१५ मा दक्षिण कोरियाली मिडियालाई दिएको अन्तर्वार्ताका आधारमा उनीविरुद्ध राजद्रोहको आरोप लगाइएको छ। दोषी ठहरिएमा उनलाई १५ वर्षसम्म जेल सजाय हुन सक्छ।
राजनीतिक विश्लेषकहरूले यी दुई घटनालाई आपसमा जोडेर हेरेका छन्। थाई विश्लेषक थिटिनान पोङ्सुधिरकका अनुसार “सिनावात्रा परिवारको राजनीतिक प्रभाव अहिले ‘गम्भीर संकट’ मा छ”।
प्रतिक्रिया