Logo

मुख्य समाचार

काठमाडौं उपत्यकाभित्र विपद् उद्धारका लागि निःशुल्क हेलिकोप्टर सेवा उपलब्ध गराइने



काठमाडौं । विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं उपत्यकाभित्र हवाई उद्धारका लागि हेलिकोप्टर निःशुल्क परिचालन गरिने भएको छ। यस सम्बन्धमा गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघ नेपालबीच मंगलबार एक समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।

गृहमन्त्री रमेश लेखकको उपस्थितिमा सम्पन्न उक्त समझदारी अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच विपद् प्रभावित व्यक्तिको खोज तथा उद्धारका लागि हेलिकोप्टर प्रयोग गर्ने सहमति भएको हो। समझदारीमा विपद्को अवस्थामा काठमाडौं उपत्यकाभित्र हेलिकोप्टर परिचालन निःशुल्क रूपमा गरिने व्यवस्था उल्लेख गरिएको छ।

वायुसेवा सञ्चालक संघले निजी हेलिकोप्टर सेवा प्रदायक कम्पनीहरूमार्फत दैनिक पालो तोकेर तयारी अवस्थामा राख्ने र आवश्यक परेको खण्डमा तत्काल परिचालन गर्ने प्रतिबद्धता जनाएको छ। उद्धार कार्यका लागि गृह मन्त्रालयको लिखित वा मौखिक अनुरोधमा हेलिकोप्टर तत्काल उडान गर्नुपर्ने प्रावधानसमेत समझदारीमा समावेश छ।

यस कार्यको समन्वय र सहजीकरणको लागि नागरिक उड्डयन प्राधिकरणलाई समेत आवश्यक जानकारी उपलब्ध गराइनेछ। साथै, हेलिकोप्टर कम्पनीहरूको सम्पर्क व्यक्तिको विवरण नियमित अद्यावधिक गरी गृह मन्त्रालय तथा प्राधिकरणमा उपलब्ध गराइने व्यवस्था पनि समझदारीमा स्पष्ट गरिएको छ।

समझदारी अनुसार, विपद्को अवस्थामा नागरिकको ज्यान तथा सम्पत्तिको सुरक्षाका लागि निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्व वहन गराउँदै उद्धारमा सहभागी गराइने छ, जसले समग्र विपद् व्यवस्थापन संयन्त्रलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ७ : ५४ बजे