पर्सा । स्रोत नखुलेको नगदसहित पर्साबाट तीनजना पक्राउ परेका छन्। पर्सा प्रहरीले मंगलबार छुट्टाछुट्टै स्थानबाट २८ लाख २८ हजार रुपैयाँसहित तीनजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पर्साको पकहामैनपुर गाउँपालिका–२ का २६ वर्षीय अनिलकुमार वर्णवाल, वीरगञ्ज महानगरपालिका–३ का २३ वर्षीय विनितकुमार श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका–४ का ४४ वर्षीय दीपककुमार सोनार रहेका छन्।
प्रहरीका अनुसार वर्णवालको साथबाट कालो झोलाभित्र लुकाइछिपाई राखिएको ९ लाख ४७ हजार रुपैयाँ फेला परेको हो। श्रीवास्तवको साथबाट वीरगञ्जस्थित कृषि विकास बैंक, लिंकरोड शाखा नजिकै कालो झोलामा लुकाइएको १५ लाख ८१ हजार रुपैयाँ बरामद गरिएको छ।
यस्तै, वीरगञ्ज–१६ रजतजयन्ती चोकमा ना. १६ प २३२८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलमा सवार सोनारको साथबाट तीन लाख रुपैयाँ फेला परेको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीले तीनैजनासँग रकमको स्रोत खुलाउन माग गरेको र थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
प्रतिक्रिया