काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भएको दाबी गर्दै डा. मुकुल ढकालले दायर गरेको रिट सर्वोच्च अदालतमा ‘हेर्न नभ्याइने’मा परेको छ।
मंगलबार न्यायाधीश हरि फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा १८औँ नम्बरमा रहेको रिटको सुनुवाइ हुन नसकेपछि अदालतले अर्को पेसी यही असार २५ गतेका लागि तोकेको हो।
यसअघि असार १२ गते न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रास्वपा र निर्वाचन आयोगलाई विपक्षी बनाउँदै कारण देखाउन आदेश दिएको थियो। सो आदेशमा आयोगलाई डा. ढकाललाई पदाधिकारीसहितको अद्यावधिक विवरण उपलब्ध गराएको पत्रसहित उपस्थित हुन भनिएको छ।
साथै, रास्वपालाई ढकालको मागबमोजिम आदेश दिन नहुने कारण भएमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न समेत भनिएको छ।
डा. ढकालले आफू रास्वपाको विधिवत रूपमा निर्वाचित महामन्त्री भएको दाबी गर्दै निर्वाचन आयोगले सो विवरण अद्यावधिक नगरेको भन्दै रिट दायर गरेका थिए।
प्रतिक्रिया