Logo

समाचार

कुलिङ पिरियडबारे भएको ‘छेडखानी’ राज्य विरुद्धको कसुर हो : शाही



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतक एवं सांसद् ज्ञानेन्द्र शाहीले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानी राज्य विरुद्धको कसुर भएको भन्दै छानविनको माग गरेका छन्  ।

मंगलबार सभामुखसँगको छलफलपछि बाहिरिने क्रममा उनले ऐन, कानून र नीति बनाउने कुरामा यस्तो छेडखानी गर्नु राज्य विरुद्धको कसुर भएको भन्दै छानविनको माग गरेका हुन् ।

उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकको हिसाबले सभामुख समक्ष माग गर्न चाहन्छु–यसको छानविन होस् । नेपालको कानून बनाउने कुरामा यस्तो छेडखानीले न देशलाई फाइदा गर्दैन् । यो त राज्य अपराध हो । संसद बनाएका छौ, समितिहरु बनाएका छौं । ति समितिका संसदहरुको महत्वलाई नै छेडखानी गर्ने राज्य विरुद्ध कसुर नै हो ।’

उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले राजीनामा दिएर मार्ग प्रसस्त गर्नुपर्ने बताए ।

‘समितिका सभापतिले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ । छानविन गरी दोषी भए कारबाही गर्नुपर्छ । यही सभापतिले नगरी कर्मचारीले यो हर्कत गरेको हो भने राज्यविरुद्ध कसुर लगाएर अपराध गर्नेहरुलाई जेल सजाय हुनुपर्छ,’ उनले भने ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १ : ५० बजे