Logo

खेलकुद

क्लब विश्वकपमा बायर्न म्युनिख र पिएसजी क्वार्टरफाइनलमा



काठमाडौं । क्लब विश्वकप २०२५ अन्तर्गत युरोपेली पावरहाउस बायर्न म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । दुवै टोलीले प्रभावशाली प्रदर्शन गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् ।

जर्मन क्लब बायर्न म्युनिखले ब्राजिलियन क्लब फ्लामेन्गोलाई ४–२ ले पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय ग‍रेको हो । त्यस्तै, पिएसजीले अमेरिकी क्लब इन्टर मियामीमाथि एकतर्फी दबाब कायम राख्दै ४–० को सहज जित दर्ता गर्यो ।

बायर्न म्युनिखले खेलको सुरुवातदेखि नै दबाब बनाएको थियो। छैटौं मिनेटमै फ्लामेन्गोका एरिक पल्गरले आत्मघाती गोल गरेपछि बायर्नले अग्रता लियो। नवौं मिनेटमा ह्यारी केनले गोल गर्दै बायर्नको अग्रता २–० बनाए ।

फ्लामेन्गोका जेर्सनले ३३औं मिनेटमा गोल फर्काएर खेलमा फर्किने संकेत दिए पनि, बायर्नका लियोन गोरेत्स्काले ४१औं मिनेटमा तेस्रो गोल गर्दै पुनः दुई गोलको अग्रता दिलाए।

दोस्रो हाफमा फ्लामेन्गोका जोर्जिन्होले ५४औं मिनेटमा गोल गर्दै खेललाई ३–२ बनाए। तर, ह्यारी केनले ७३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नको ४–२ को जित पक्का गरे।

पिएसजीले इन्टर मियामीविरुद्ध सुरुवातदेखि नै आक्रामक खेल प्रदर्शन ग‍र्यो । छैटौं मिनेटमा जोआओ नेभ्सले गोल गर्दै अग्रता दिलाए। उनले ३९औं मिनेटमा दोस्रो गोल थप्दै पिएसजीलाई बलियो स्थितिमा पु‍र्याए।

४४औं मिनेटमा इन्टर मियामीका टोमास एभिल्सले आत्मघाती गोल गरे भने पहिलो हाफको अतिरिक्त समय (४५ ंप्लस ं३ मिनेट) मा अचरफ हाकिमीले गोल गर्दै पिएसजीलाई ४–० को स्पष्ट अग्रता दिलाए ।

अब क्वार्टरफाइनलमा पिएसजी र बायर्न म्युनिख आमनेसामने हुनेछन्, जसले क्लब विश्वकपको सेमिफाइनल यात्रा तय गर्नेछ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ८ : २३ बजे