Logo

कर्पोरेट

हिमालयन लाइफ इन्स्योरेन्सको एजीएम सम्पन्न, ८ प्रतिशत नगद लाभांश पारित




काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारण सभा आज मंगलबार सम्पन्न भएको छ। सभाले कम्पनीको वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार ३०६ रुपैयाँको ८ प्रतिशतका दरले ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

साथै, सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित गरेको छ।

सभाले कम्पनीको सहायक संस्था हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पनि अनुमोदन गरेको छ। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि एस.सी.लाल एशोसिएट्स चार्टर्ड एकाउन्टेण्टलाई लेखापरीक्षकमा नियुक्त गरिएको छ।

त्यसैगरी, सभाले नियमनकारी निकायबाट प्रस्तावित विषयमा आवश्यक संशोधन वा परिमार्जन भएमा सो अनुसार कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ। कम्पनी ऐनको दफा १०५(१)(ग) बमोजिम गत आर्थिक वर्षको खर्च पनि अनुमोदन गरिएको छ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  १२ : ५९ बजे