काठमाडौँ । नेपाल राष्ट्र बैंकले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। असार ५ गते राष्ट्र बैंकमा पेश गरिएको विवरणअनुसार गभर्नर पौडेलका नाममा सात कम्पनीमा शेयर लगानी रहेको छ। साथै, ललितपुर र नवलपरासीमा घरजग्गा तथा विभिन्न बैंक खातामा नगद मौज्दात समेत देखिएको छ।
सम्पत्ति विवरणअनुसार गभर्नर पौडेल र उनकी पत्नी प्रतिभा शर्माको नाममा ललितपुरको सैंबुस्थित कित्ता नम्बर ६४३ को पाँच आना दुई दाम जग्गा र २,७९५ वर्गफिटको घर रहेको छ, जुन पैतृक सम्पत्ति र स्वआर्जन रकमबाट एक करोड ५५ लाखमा खरिद गरिएको उल्लेख छ। यस्तै, नवलपरासी गैँडाकोटस्थित कित्ता नम्बर ४१७४ मा रहेको जग्गा र घर पनि ६० लाखमा खरिद गरिएको हो।
पौडेलको विवरणमा करिब ४५ तोला सुन र १५ लाख बराबरको हीराका गहना समेत रहेको उल्लेख छ। बैंक खातामा मौज्दात रकमका रूपमा सानिमा बैंकमा १३ लाख २३ हजार १९२, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा दुई लाख ५९ हजार ३४४ र सानिमा बैंकमा अमेरिकी डलर ६६.७८ रहेको छ। प्रतिभा शर्माको नाममा सानिमा बैंकमा १२ हजार ५४७, प्रभु बैंकमा चार लाख ७३ हजार ८२२ र सानिमा बैंकमा अमेरिकी डलर ४,४४६ रहेको देखिन्छ।
शेयर लगानीतर्फ पौडेलको नाममा सानिमा बैंकको २,४४,१७६ कित्ता, सानिमा मिडल तमोर हाइड्रोपावरको १,८८,००० कित्ता, ग्लोबेको प्रालिको १,८६,८३४ कित्ता, संयुक्त ऊर्जा हाइड्रोपावरको ५,००,००० कित्ता, चितवन इनर्जी लिमिटेडको २,५०,००० कित्ता प्रवद्र्धक शेयर र सानिमा माइ हाइड्रोपावरको ९२,५७९ कित्ता साधारण शेयर रहेको छ। प्रतिभा शर्माको नाममा ग्लोबेको प्रालिको ७५,००० कित्ता प्रवद्र्धक शेयर तथा रु ४४ लाखमा २०७७ भदौमा खरिद गरिएको सुजुकी कारसमेत सम्पत्ति विवरणमा उल्लेख गरिएको छ।
सम्पत्तिको स्रोतको रूपमा पौडेलले स्वआर्जन र पैतृक सम्पत्तिलाई प्रमुख आधार देखाएका छन्।
प्रतिक्रिया