काठमाडाैं । गृहमन्त्री रमेश लेखकले कुनै ठाउँमा भारी बर्षा हुने भनिसकेपछि सवारी साधन बन्द गरिएको अवस्थामा चलाएको पाइए त्यो प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
बुधबार गृह मन्त्रालयले आयोजना गरेको सडक क्षेत्रमा हुने सक्ने विपद्को पूर्वतयारी तथा प्रतिकार्य सम्वन्धी बैठकमा बोल्दै गृहमन्त्री लेखकले मनसुनका बेला हुन सक्ने सडक दुर्घटना न्युनीकरणका लागि गरिएका निर्णय र बनाइएका आचारसंहिता कार्यान्वयनमा जोड दिएका हुन् । उनले उक्त निर्णयहरुका बारेमा आम नागरिकसम्म पुगाउन सुचना प्रवाहमा ध्यान दिन आग्रह समेत गरे ।
‘कुनै ठाउँमा भारी बर्षा हुने भनिसकेपछि सवारी साधन चल्नु हुन्न भनिसकेपछि कुनै जिल्लामा सवारी साधन भेटियो भने त्यो जिल्लाको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ट्राफिक प्रहरीलाई कारबाही गरिनेछ ।’ उनले भने, ‘कारण देखाउनुपर्ने छैन् । बिरामी र एम्बुलेन्स छ भने त्यो एउटा विषय बन्ला होइन भने सामान्य गाडी कसैका भनसुनका आधारमा चलाइएको पाइए कारबाहीको विषय बन्छ । ’उनले उक्त विषय गृहसचिव र प्रहरी प्रमुखहरुलाई तल्लो तहसम्म सर्कुलर गर्न निर्देशन समेत दिए ।
पहिरोले सडक अवरुद्धका साथै सवारीसाधन समेत बगाउने अवस्था आउने गरेको भन्दै गृहमन्त्री लेखकले सडक सञ्जाल अवरोध हुँदा धेरै समस्याहरु सिर्जना हुने गरेको बताए ।
प्रतिक्रिया