काठमाडौं । आइएमई ग्रुपको लगानीमा नेपालमै पहिलोपटक फाइबर सिमेन्ट बोर्ड उत्पादन उद्योग सञ्चालनमा आएको छ। डेढ अर्ब रुपैयाँको लगानीमा स्थापना गरिएको ‘एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रा.लि.’ ले बुधबारदेखि औपचारिक रूपमा उत्पादन र वितरण सुरु गरेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले काठमाडौंमा आयोजित एक कार्यक्रममा उद्योगको उद्घाटन गर्दै फाइबर सिमेन्ट बोर्ड तथा त्यसबाट निर्माण हुने विभिन्न उत्पादनहरू सार्वजनिक गरेका हुन्।
मन्त्री भण्डारीले स्वदेशमै वातावरणमैत्री, गुणस्तरीय र अत्याधुनिक प्रविधिमा आधारित निर्माण सामग्री उत्पादन हुने उद्योगको स्थापनाले आयात प्रतिस्थापनसँगै दिगो विकासतर्फको मार्ग प्रशस्त गर्ने बताउँदै उत्पादनमुखी लगानीलाई सरकारले प्रोत्साहन दिने स्पष्ट पारे।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका प्रमुख चन्द्र ढकालले उद्योगले स्वदेशी कच्चा पदार्थ र स्रोतको प्रयोग गरेर निर्माण क्षेत्रमा योगदान पुर्याउने विश्वास व्यक्त गरे। “देशभित्रै रोजगारी सिर्जना हुनुका साथै आयात प्रतिस्थापनका माध्यमबाट विदेशी मुद्रा बाहिरिन नदिन उद्योगले सहयोग पुर्याउनेछ,” उनले भने।
रौतहटको फतुवा विजयपुर नगरपालिका–६ मा अवस्थित उद्योगमा सम्पूर्ण उत्पादन प्रक्रिया (कच्चा पदार्थ मिसावटदेखि बोर्ड कटिङ, प्रेसिङ र ड्राइङसम्म) पूर्ण अटोमेटेड प्रविधिमा आधारित छ। उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट बोर्ड उत्पादन गर्न सक्ने क्षमता राख्दछ।
४ फिट लम्बाइ, ८ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएम मोटाइमा उपलब्ध यी बोर्डहरू लचकदार, आगो प्रतिरोधी, मौसम प्रतिरोधी, वातावरणमैत्री र दीर्घकालीन टिकाउ छन्। प्रयोग भवनको बाहिरी भाग, पाटीशन, फल्स सिलिङ, मोडुलर किचनदेखि आपतकालीन संरचनासम्म गर्न सकिने भएकाले आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा माग बढ्ने अपेक्षा गरिएको छ।
उद्योगले रोजगारी प्रवर्द्धनमा समेत योगदान पुर्याएको छ। हाल २०० भन्दा बढी व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न छन्, जसमा ९८ प्रतिशतभन्दा बढी स्थानीय र ४० प्रतिशतभन्दा बढी महिला कामदार छन्।
उद्योगले वातावरणमैत्री, प्रतिस्पर्धी र आयात प्रतिस्थापनमा टेवा पुर्याउने उत्पादनमार्फत निर्माण क्षेत्रमा दीर्घकालीन आर्थिक योगदान दिने लक्ष्य लिएको छ।
प्रतिक्रिया