वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा पेट्रोलियम पदार्थको आयातबाट मात्रै ७३ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो चालु आवमा कार्यालयद्वारा संकलित कुल राजस्वमध्ये सबैभन्दा ठूलो हिस्सा हो।
कार्यालयका अनुसार ११ महिनामा पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात गर्न १ खर्ब ७४ अर्ब ९ करोड रुपैयाँ खर्च गरिएको छ। यसबाट प्राप्त राजस्व कुल मुख्य २० वस्तुबाट संकलित राजस्वको ४६.४३ प्रतिशत रहेको छ।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ र सवारीसाधन आयातलाई राजस्व संकलनको मुख्य स्रोतको रूपमा उल्लेख गरे। उनका अनुसार सवारीसाधन तथा तिनका पार्टपुर्जा आयातबाट १७ अर्ब ७० करोड रुपैयाँ राजस्व प्राप्त भएको छ, जसको योगदान ११.२३ प्रतिशत रहेको छ।
फलाम तथा त्यसबाट बनेका सामान आयातबाट ५ अर्ब ७८ करोड, मेसिनरी र पार्टपुर्जाबाट ५ अर्ब २६ करोड, इलेक्ट्रिक मेसिनरी र उपकरण आयातबाट ३ अर्ब ६७ करोड राजस्व संकलन भएको छ।
त्यस्तै, कपडा आयातबाट ३ अर्ब ६ करोड, सुर्तीजन्य पदार्थबाट २ अर्ब ५८ करोड, शृङ्गार सामग्रीबाट २ अर्ब ५२ करोड, प्लास्टिक कच्चा पदार्थबाट २ अर्ब ३२ करोड र लुब्रिकेटिङ्ग आयलबाट २ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
११ असार २०८२, बुधबार
46
Shares
प्रतिक्रिया