काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट असार १० गतेसम्म सार्वजनिक गर्न सकेको छैन। प्रमुख प्रशासकीय अधिकृतको नियुक्तिलाई लिएर मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डङ्गोलबीच देखिएको विवादका कारण कार्यपालिका बैठक बस्न नसक्दा बजेट प्रक्रिया अन्योलमा परेको हो।
संविधानअनुसार प्रत्येक स्थानीय तहले असार १० भित्र नीति तथा कार्यक्रमसहितको बजेट पारित गर्नुपर्ने प्रावधान छ। तर, महानगरपालिकाले यस वर्ष समयमै बजेट प्रस्तुत गर्न नसकेको हो। विगतका वर्षहरूमा महानगरले असार १० भित्रै बजेट ल्याउँदै आएको थियो।
महानगरका प्रवक्ता नवीन मानन्धरले मंगलबारसम्म बजेट नआएको पुष्टि गर्दै आन्तरिक तयारी अधुरो भएकाले प्रक्रिया पूरा हुन नसकेको जानकारी दिए। उनका अनुसार, बजेटको मस्यौदा निर्माण भइसके पनि कार्यपालिका बैठक नबसेका कारण प्रस्तुत गर्न ढिलाइ भएको हो।
महानगर कार्यपालिकाको बैठक गत पुसयता बस्न सकेको छैन। मेयर शाहले काठमाडौं टावरको नक्सा पासमा अनियमितता भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई निलम्बन गरेका थिए। तर संघीय सरकारले उनलाई पुनः सोही पदमा पठाएपछि विवाद चर्किएको हो। मेयर शाह गुरागाईंको उपस्थितिमा बैठक गर्न नमानेका छन् भने उपमेयर डङ्गोल गुरागाईंलाई हटाएर मात्र बैठक बस्ने अडानमा रहेकी छन्।
असार ४ गते मेयर शाहले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बोलाएका थिए। तर समितिका सचिवसमेत रहेका गुरागाईंलाई बैठकबाट बाइपास गर्न खोजिएपछि उपमेयर डङ्गोलसहितका सदस्यहरूले बैठक अस्वीकार गरेका थिए। त्यस दिन बैठक बस्न नसकेको हो।
महानगर स्रोतका अनुसार मेयर शाहले उपमेयर डङ्गोलसहित सबै वडाध्यक्षलाई बजेट तयारीको जिम्मा दिएका थिए। उपमेयर, प्रवक्ता मानन्धर, वडा नं. १५ का अध्यक्ष ईश्वरमान डङ्गोल र वडा नं. ३२ का अध्यक्ष नवराज पराजुलीलाई सबै दलसँग समन्वय गरेर कार्यपालिका बैठकको मिति तय गर्ने जिम्मा दिइएको थियो। तर तीबीचमा पनि सहमति नजुटेपछि बैठक तय हुन नसकेको हो।
प्रवक्ता मानन्धरले बजेट छिट्टै सार्वजनिक गर्ने दाबी गर्दै प्रक्रिया मात्र अपूरा भएको बताए। “कार्यपालिकाको बैठक बस्यो भने बजेट तुरुन्तै आउँछ,” उनले भने, “सबैको कारणले ढिलाइ भएको हो, दोष अरूलाई होइन, आफैँलाई दिनुपर्छ।”
प्रतिक्रिया