Logo

मुख्य समाचार

दृष्टि मिडियाका प्रकाशक, सम्पादक र संवाददातालाई विशेष अदालतको बयानका लागि तीन दिनको समय



काठमाडौं । विशेष अदालतले अदालतको अवहेलना आरोपमा दृष्टि मिडियाका प्रकाशक, सम्पादक र संवाददातालाई तीन दिनभित्र उपस्थित भई बयान दिन आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालासहितको इजलासले मंगलबार आदेश जारी गरेको हो। अदालतको इतिहासमा पहिलोपटक मिडियामा प्रकाशित समाचारका आधारमा विशेष इजलास बसेको हो।

दृष्टि साप्ताहिकले असार ८ गते ‘विशेष अदालतमा बिचौलियाको चलखेल हटेन, सेटिङका मुद्दामा ३ महिनामै सफाइ’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। उक्त समाचारलाई लिएर नवराज सापकोटालगायतले अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर गरेका थिए।

इजलासले विपक्षीका रूपमा रहेका दृष्टि मिडियाका प्रकाशक शम्भुलाल श्रेष्ठ, सम्पादक एमपी सुब्बा र सम्बन्धित संवाददातालाई आफैं अदालतमा उपस्थित भई बयान दिन आदेश दिएको हो। आदेशमा भनिएको छ, “यस अदालतको अवहेलनामा किन कारबाही र सजाय हुनु नपर्ने हो भन्नेबारे स्पष्ट आधार, कारण र प्रमाणसहित तीन दिनभित्र बयान दिनू।”

साथै, अदालतले दृष्टि न्यूज अनलाइनमा प्रकाशित समाचार यथास्थितिमा राख्न आदेश दिएको छ। अर्को आदेश नआएसम्म उक्त समाचार सामग्री नहटाउन, परिवर्तन वा परिमार्जन नगर्न भनिएको छ।

यसअघि नेपालखबर र बिजमाण्डु अनलाइनमा प्रकाशित समाचार हटाउने आदेश फिर्ता लिइएको केही दिनमै विशेष अदालतले दृष्टिको समाचारबारे फरक निर्णय दिएको हो।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ६ : १४ बजे