Logo

Breaking News 1

‘छहारी’मा एकल महिलाको श्रम र पसिना : बजार नपाउँदा सँधैभरी चिन्ता



सुनाकोठी(ललितपुर) । ललितपुर महानगरपालिका–२७ मा पर्ने सुनाकोठीमा एउटा कृषि फर्म छ । फर्मभित्र कांक्रा र फर्सीका लहरा झाँगिएका छन् । लहरामा पहेंला फुलहरु फक्रिदैछन् । हरिया बुट्टामा खुर्सानी फस्टाउँदैछ । लहरामा सिमी र बोडीहरु हुर्किदैछन् । टनेल भित्र र बाहिर काउली उसैगरी हुर्किदैछ । फर्मभित्र स्थानीय परिश्रमी महिलाहरु दिनरात नभनी सक्रिय छन् ।

तिनै परिश्रमी एकल महिलाहरुले संचालनमा ल्याएको ‘छहारी कृषि एकल महिला फर्म’ तरकारी उत्पादनका लागि उदाहरणीय मात्र छैन्, ‘एकल’हरुले केही गर्न सक्दैनन् भन्ने परम्परागत सोचलाई चुनौति दिइरहेको छ ।
हुनपनि एकल महिला भन्ने वितिकै हाम्रो मानसपटलमा ‘विधवा’ महिलाको चित्र घुम्छ । एकल भइसकेपछि एक्लो हुन्छन् भन्ने सोच यद्यपी कायम छ । समाजमा जरा गाडेर बसेको एकलप्रति सोच अब फराकिलो बन्दै गइरहेको छहारीले पुष्टि गर्दै गइरहेको छ ।

पछिल्लो समय वैदेशिक रोजगारी कारणले होस् या दुर्घटनामा परेर या सम्बन्धविच्छेदका घटना बढिरहदा एकल महिलाको संख्या बढ्दै गएको छ । दशवर्षे माओवादी सशस्त्र द्वन्द्वमै पनि नौ हजार भन्दा बढि महिला एकल भएका थिए । अन्य थुप्रै घटनाहरुका कारण एकल भएका सुनाकोठीका महिलाहरु भने अब्बल सावित भएका छन् ।

‘छहारी’को नेतृत्व गरिरहेकी छिन् सबिता मर्हजनले । २२–२३ बर्षमा दौडिरहेका बेला दुर्घटनामा परी श्रीमान गुमाएकी सविताले केही एकलहरुलाई संगठित गरेर सुरु गरेकी थिएन कृषि फर्म । एकल महिलाहरुको अधिकार र उद्यमशिलतालाई केन्द्रविन्दुमा राखेर संगठित भएका उनीहरुले कृषि फर्ममार्फत गतिलो उदाहरण पस्किदिएका छन् ।

आर्थिक र शैक्षिक अवस्था फरक भए पनि जुनसुकै उमेरका एकल महिला धर्म र संस्कारका नाममा भेदभाव सहदै आइरहेको गुनासो सबिताको छ । श्रीमान श्रीमती मिलेर पसल सञ्चालन गर्दै आइरहेकी सविता श्रीमानको मृत्युपछि पसल गर्दाको भोगाइ सम्झिदाँ अहिले पनि त्रसित हुन्छिन् । तर हिम्मत नहारेको स्वीकार्छिन् ।

त्यो वेला मेरो पसल थियो । सेतो लुगा लगाएर पसलको लागि सामान लिन जाँदाको भोगाइ आजपनि ताजा लाग्छ । तर अहिलेका महिलाले त्यस्तो भोग्नु परेको छैन् होला । श्रीमानको मृत्युपछि रातो लगाउन नहुने संस्कार रहेकाले एक वर्षसम्म सेतो लुगा लगाउँदा सेतो देखेरै तर्सिन्थे । कति गाह्रो भयो भनेर साध्य छैन । विभिन्न आरोप लगाउने, सुन्नै नसक्ने शब्दहरुको प्रयोग गरेको सुन्दा मन कुडिन्थ्यो,’ उनले विगत स्मरण गरिन् ।

तर उनकै अगुवाइमा सुनाकोठीका दुःखी, गरिव र वेसहारा एकल महिलाहरुको दुःख भुल्याउने सारथीका रुपमा छहारी एकल महिला कृषि फर्म संचालनमा ल्याएको महर्जनले जानकारी दिइन् । एकल महिलाहरुको सीप र क्षमतालाई उत्पादनसँग जोडेर नयाँ पहिचान स्थापित गराउन कृषि क्षेत्र रोजेको उनले बताइन् ।

अहिले कृषि फर्मका टनेलहरुमा गोलभेडा, काँक्रो र बोडिहरु फलिरहेका छन् भने टनेल बाहिर मकै र सिमी फस्टाएका छन् ।
विषदीरहित तरकारी उत्पादन गर्ने लक्ष्यका साथ स्थापना गरिएको फर्ममा वेसारदेखि पिडालुसम्म रोप्ने गरिएको छ । आफूले भोग्नुपरेको दुःख अरु एकल महिलाले भोग्नुनपरोस् भनेर छहारी एकल महिला समुह र कृषि फर्मको सुरुवता गरेको सविताले बताइन् ।

२८ रोपनीमा फैलिएको फर्ममा सुरुवाती दिनमा २५ जना सदस्य थिए । अहिले त्यो संख्या बढेर ३६ पुगेको छ । सामुहिक रुपमा काम गर्दा आफूमात्र नभई दुःखलाई सुखमा परिणत गर्ने स्थल भएकोले छहारी नाम दिइएको पनि उनले सुनाइन् ।
२०६८ सालमा एकल महिला समूह गठन भएपछि ०७१ सालतिर फर्म सुरु गरिएको उनले जानकारी दिइन् । फर्ममा ३५ देखि ७० बर्ष उमेर समूहका महिलाहरु दिनरात सक्रिय छन् ।

खुशी बिसाउने छहारी
कृषि फर्ममा आबद्ध भएका महिला र केही स्थानीयहरुका लागि उक्त फर्म आत्मरिर्भर रहने मात्र नभइ खुशी बिसाउने माध्यम पनि बनेको छ । ३८ वर्षको उमेरमा एकल हुन पुगेकी प्रेम कुमारी महर्जन घरमा बस्नु भन्दा फर्ममा काम गरी आफ्नो जीवनयापन गरिरहेको बताउँछिन् । फर्ममा जाँदा आफू मात्र एकल नभएको महसुस हुने भएकाले खुशी विसाउने छहारी बनेको सुनाउँछिन् ।

‘३८ वर्षको उमेरमा श्रीमान क्यान्सरले बित्नुभयो । त्यसवेला छोरी ११ वर्ष र छोरा १४ वर्षको थियो । छोराछोरी पढाउन र हुर्काउन सविताको माध्यमबाट फर्ममा आवद्ध भएकी हुँ,’ उनले भनिन,‘घरमा बस्नुभन्दा दिनभरी फर्ममा काम आत्मसन्तुष्टि मिलेको छ,’ उनले भनिन् ।

फर्मकी अर्की सदस्य श्याम माया महर्जन उस्तै साथीहरुसँग मिलेर काम गर्दा रमाइलो हुने र दुःख विर्सिने बताउँछिन् । उनले उत्पादन भएका तरकारीले उचित मूल्य नपाउँदा ज्याला पाउन नसकेको गुनासो गरिन् ।

‘काम त भइरहेको छ तर श्रमको उचित्र मूल्य पाएका छैनौं । किनभने हामीले उत्पादन त गर्यौ तर आफ्नो मूल्यमा बेच्न पाएनौ । राम्रो हुँदाहुँदै पनि बेच्न सकेका छैनौ,’ उनले भनिन्, ‘तैपनि काम गर्ने उत्साह छ । उस्तै उमेरका साथीहरु छौं । घरमा भन्दा फर्ममा काम गर्दा कति रमाइलो कति रमाइलो । दुःख पनि विर्सिने, बोल्न, हाँस्न पाइने रहेछ । मिलेर काम गर्न पाइन्छ,’ उनले भनिन् ।

यस्तै अर्की सदस्य चनमाया महर्जनले आफूहरु संगठित भएको १५ बर्ष वितेकाले धेरै कुरा सिक्न पाएको सुनाइन् । ‘हामी संगठित भएको १५ बर्ष वित्यो । सुरुमा एकल महिला समूह थियो । बचत उठाउथ्यौ । कोहीलाई नाम पनि लेख्न आउँदैनथ्यो । अहिले लेखपढ गर्नपनि जान्ने भएका छौं,’ उनले अगाडि भनिन्,‘ दिनभर यही फर्ममा आउँछौ । दिनभरी काम गर्छौ अनि खाजा खाएर जान्छौ । काम गर्न रमाइलो छ । उत्पादिन सामग्रीको उचित बजार नपाएकाले ज्याला लिन पाएको छैन, अब पाइन्छ की भन्ने आश हुन्छ । फाइदामा भयो भने ज्याला पाइएला ।’

बजारीकरणको समस्या
फर्ममा उत्पादन भएको तरकारीहरुले उचित मूल्य पाउन नसकेको फर्मका सदस्यहरुको गुनासो छ । ‘बजारमा विषादी भएको र अर्गानिक पनि त्यही मूल्यमा बेच्नुपर्दा मारमा परेका छौ । दुईथरी तरकारीको उही मूल्या पाउन सकिरहेका छैनौं । अर्गानिक उत्पादन त गरेका छौं तर मूल्य पाएका छैनौं । सबैभन्दो ठूलो समस्या भनेकै बजारको छ,’सबिताले भनिन् ।

आफूहरुले थोरै उत्पादन गर्ने तर स्वस्थ गर्ने भएको भएपनि अर्गानिक र विषादी मिसिएको तरकारीबारे बुझाउन नसकिएको र उपभोक्ताले पनि बुझ्न नचाहैको उनको गुनासो छ । सम्बन्धित निकायले विभिन्न ठाउँमा हाटबजार राखिदिए राम्रो हुने उनले बताइन् । सरकारले बजार मात्र राम्रो व्यवस्थापन गरिदिए जतिपनि सामग्री उत्पादन गर्ने उनले जानकारी दिइन् ।
यता, बाग्मती प्रदेश सांसद रघुनाथ महर्जनको राज्यले एकल महिलाहरुलाई दिने रकम प्रर्याप्त नभएको भन्दै सम्बन्धित ठाउँमा आवाज नपुगेको बताए । एकल महिलाहरुको डाटा संकलन गरेर अवस्था अनुसार राहत र अनुदान उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

एकल महिलाहरुको श्रेणी छुट्याएर राज्यले काम गर्नुपर्ने औंल्याए । उनले बाग्मती सरकारले संघीय सरकारलाई दबाब सिर्जना गर्ने साथै प्रदेशले आवश्यक समन्वय गर्ने बताए ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ८ : ५० बजे