Logo

खेलकुद

एसिसी पुरुष यु–१६ : पहिलो खेलमा नेपालले सिंगापुरलाई हरायो



काठमाडौं । एसीसी मेन्स यु–१६ क्रिकेट इस्ट कपको पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ ।

नेपालले आइतवार मलेसियामा सम्पन्न भएको खेलमा ६ विकेटको जित हासिल गरेको हो । सिंगापुरले नेपाललाई १ सय ३९ रनको सामान्य लक्ष्य दिएको थियो भने नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर उक्त लक्ष्य पूरा गरेको छ ।

टस जितेर ब्याटिङ गरेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन मात्र बनाएको थियो । पहिलो खेलमा नै विजयी नेपालले २ अंक जोड्दा सिंगापुर पहिलो खेलमा नै पराजित भएको छ ।

गत महिना सुर्खेतमा सम्पन्न टिबी साह मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आधारमा नेपाली टोलीको छनोट गरिएको थियो ।

प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागीता रहेको छ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा रहेको नेपालको समूहमा सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार रहेका छन् ।

नेपाल हालसम्म भएका प्रतियोगिताको तीनै संस्करणको च्याम्पियन हो । दोस्रो खेलमा मंगलबार जापानसँग खेल्ने नेपालले तेस्रो खेलमा अर्को साताको आइतवार इन्डोनेसियासँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ ।

हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल ५ जुलाई (असार २१) मा फाइनल हुनेछ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  २ : ०७ बजे