Logo

समाचार

बौद्धमा दीप प्रज्वलन गर्दै युद्ध अन्त्य र विश्व शान्तिको माग



काठमाडौँ । विश्वका विभिन्न भागमा जारी युद्धको विरोध गर्दै तथा शान्तिको कामनासहित मानव अधिकार तथा शान्ति समाजले काठमाडौँमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।

बिहीबार साँझ वाग्मतीनगरबाट सुरु भएको शान्तिपूर्ण प्रदर्शन बौद्धनाथ पुगेर दीप प्रज्वलनसहित समापन गरिएको हो। कार्यक्रममा इजरायल–इरानसहितका युद्ध तत्काल अन्त्य गर्न माग गर्दै ‘युद्ध रोक, शान्ति प्रवर्द्धन गर’, ‘संवादमार्फत समाधान खोज’ लगायत नारासहित प्रदर्शन गरिएको थियो।

प्रदर्शनमा सहभागीहरूले इजरायललाई आक्रामकता त्यागी शान्तिपूर्ण सहअस्तित्वको बाटो लिन र इरानलाई आणविक महत्वाकांक्षा परित्याग गर्न आग्रह गरे।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, पूर्व सभापतिहरू रामकृष्ण बराल र होमकान्त चौलागाई, सल्लाहकार रामप्रसाद जोशी, महासचिव प्रकाश शाही, अनुशासन समिति संयोजक कृष्णबहादुर रावल, सचिवहरू प्रेम पटेल र दिवाकर पुडासैनी, कोषाध्यक्ष चन्द्रमणि बञ्जारा, सदस्यता अपिल समिति संयोजक किरण ढकाल, सदस्य सानु लामा, केन्द्रिय सदस्यहरू नम्रता खरेल, उमा गौतम, शम्भु राउत, रोजिना विष्ट, मणिराम दाहाल, काठमाडौँ शाखा सभापति विकास थापा, ललितपुर शाखा सभापति मनबहादुर थापा लगायत शान्तिवादीहरूको उल्लेख्य उपस्थिति थियो।

यसैदिन वाग्मती प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमसमेत सम्पन्न भएको छ। सामाजिक न्यायदेखि जलवायु न्यायसम्मका विषयमा केन्द्रित उक्त कार्यक्रम वाग्मती प्रदेशका सात जिल्ला (बारा, पर्सा सहित) का ७० जनाको सहभागितामा सम्पन्न भएको हो।

कार्यक्रमको अन्त्यमा “संक्रमणकालीन न्याय प्रक्रियाः पीडित÷नागरिक समाजको अबको संयुक्त आन्दोलन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वर्तमान अवस्था” विषयक अन्तरसंवाद आयोजना गरिएको थियो।

संक्रमणकालीन न्यायसम्बन्धी छलफलमा संविधानसभा सदस्य एवं वेपत्ता पारिएका परिवारका प्रतिनिधि एकराज भण्डारी र द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले मन्तव्य राखेका थिए।

त्यसैगरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वर्तमान अवस्थाबारे वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारी र लेखक–विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतमले धारणा राखेका थिए।

यसअघि शान्ति समाजले कोशी प्रदेशको इटहरी, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल र कर्णाली प्रदेशको सुर्खेतमा पनि यस्तै अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १२ : ५८ बजे