काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी असार २५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हालको चुक्ता पूँजीको ४२ प्रतिशतबराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर जारी गर्न लागेको छ।
यस प्रयोजनका लागि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
हकप्रद निष्काशनका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरेको थियो। सो अनुसार जेठ १४ गतेसम्म कायम रहेका शेयरधनीहरूले साउन १३ गतेसम्म आवेदन दिन सक्नेछन्।
बीमा नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम ५ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउने निर्देशन अनुसार कम्पनीले शेयर लाभांश र हकप्रद निष्काशनमार्फत पूँजी वृद्धि गर्ने योजना ल्याएको हो। हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ।
हकप्रद वितरणपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५६ रुपैयाँ पुग्नेछ।










प्रतिक्रिया