काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले भिजिट भिसा काण्ड हजारौ नेपाली युवाको सपना र सिंगो भविष्यमाथिको सुनियोजित ढकैती भएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा उनले युवाहरुको बिवशताको भुइँमा टेकेर देशमा लुटको सिन्डिकेट खडा भएको भन्दै यसले देशलाई छिट्टै नै भ्रष्टाचारको म्यूजियम बनाउने बताए ।
उनले भने, ‘युवाहरुको बिवशताको भुइमा टेकेर देशमा लुटको सिन्डिकेट खडा भएको छ । यो सिन्डिकेटले कहिले भुटानी शरणार्थीको रुपमा देशको नागरिक बेच्छ, कहिले ललिता निवास बचाउनु पर्नेले सरकारी जग्गा बचाउँछ । कहिले सुनलाई बिस्कुट भनेर भित्राउँछ । लाग्छ अब यो देश छिटै नै भ्रष्टाचारको म्यूजियम बन्दैछ । यसको सूचीमा नयाँ काण्ड थपिएको छ । भिजिट भिसा काण्ड यो सामान्य ठगी होइन, यो हजारौं नेपाली युवाको सपना र सिंगो भविष्यमाथिको सुनियोजित ढकैती हो । सरकारले यसमाथि छानबिन गर्नुपर्छ ।’
यस्तै उनले सदन केवल बहुमतको अंकगणितले मात्र होइन विवेक र नैतिकताले चल्नुपर्ने भन्दै एक महिनादेखि सदनमा राजनीतिक नाटक मञ्चन भइरहेको बताए ।
उनले भने, ‘एक महिनादेखि यो सदनमा राजनीतिक नाटक मञ्चन भइरहेको छ र हामीलाई यसको दर्शक बन्न बाध्य पारिएको छ । सदन केवल बहुमतको अंकगणितले मात्र होइन विवेक र नैतिकताले चल्नुपर्छ । आज लाखौ युवा रोजगारीको खोजीमा मरुभूमिका पसिना बगाइ रहेका छन् । यो उनीहरुको रहर होइन देश हाक्नेहरुको असफलताले जन्माएको राष्ट्रिय विवशता हो ।’
रास्वपा संख्यामा थोरै भएपनि कमजोर नभएको भन्दै रास्वपाले आफ्नो माग कायमै राख्ने पनि उनको भनाई छ ।
प्रतिक्रिया