Logo

Breaking News 1

‘जलवायु परिवर्तनको समस्या नखाएको विषको असर हो, भोग्न बाध्य छौं’



दोलखा । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिल्वालले नेपाल जलवायु परिवर्तनको चपेटामा परेको भन्दै यसबाट मानव जातीमात्र नभएर सम्पूर्ण जीव र वनस्पति समेत प्रभावित रहेको बताएका छन् ।

शनिबार दोलखाको सिङ्गटीमा बागमती प्रदेश सरकारको आयोजनामा जारी रहेको‘गौंरीशंकरको रक्षा हिमालदेखि तराईसम्मको सुरक्षा’ विषयक जलवायु परिवर्तन’सम्बन्धी च्छोरोल्पा संवादको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नखाएको विषको असरको रुपमा नेपालले अहिले जलवायु परिवर्तनको समस्या खेपिरहेको बताए ।

उनले भने,‘नखाएको विषको असर अहिले हामीले भोग्न परेको छ । जलवायु परिवर्तनले मानवमा मात्र होईन् ,सम्पूर्ण वनस्पति र जीवहरुमा गम्भीर असर पुगेको छ । यसमा नेपालको कुनै भूमिका छैन्,तर जलवायू परिवर्तनको चपेटामा नेपाल परेको छ ।’

त्यस्तै उनले जलवायु परिवर्तनको विषयमा तीनै तहको सरकार मिलेर आवाज उठाएर त्यो आवाज अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन आवश्यक रहेको बताए । ‘यस विषयमा तीनै तहको सरकार मिलेर आवाज उठाएर त्यो आवाज अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन आवश्यक छ । अन्य देशरुलार्ई तिमिहरु अपराध गर्ने अनि हामीले सजाय भोगिदिन पर्ने’ भन्ने यो आवाज अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन यो संवाद सार्थक बन्ने छ,’उनले भने ।

‘च्छोरोल्पामा देखिएका चुनौतीहरुलाई सम्भावनामा बदल्न आवश्यक’
यस्तै,सोही कार्यक्रममा बोल्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन काफ्लेले च्छोरोल्पामा देखिएका चुनौतीहरुलाई सम्भावनामा बदल्न आवश्यक रहेको धारणा राखे । च्छोरोल्पालाई उत्पादनमुखी बनाउन आवश्यक रहको बताउँदै उनले यसमा बागमती सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले भने,‘नेपालमा केही भएको छैन्,केही हुँदैन् भन्ने गलत भाष्य निर्माण भएको छ । यसलाई चिर्न आवश्यक छ । अहिले यहाँ च्छोरोल्पा संवाद भएको छ । यो एकदमै समयसापेक्षित छ । च्छोरोल्पामा देखिएका चुनौतीहरुलाई सम्भावनामा बल्नुपर्ने छ । च्छोरोल्पालाई उत्पादनमुखी बनाउन आवश्यक छ । यसमा बागमती सरकारले हर समय सहयोग गर्ने छ ।’

त्यस्तै बागमती प्रदेश सांसद आनन्दकुमार श्रेष्ठले जलवायु परिवर्तनको कारण मानव जीवनको अस्तित्व संकटमा गइरहेको भन्दै चिन्ता व्यक्त गरे । अब स्वस्थ पृथ्वी आउने भावी पुस्तालाई कसरी हस्तान्तरण गर्ने भन्ने विषयमा सोच्न आवश्यक रहेको भन्दै उनले जलवायु परिवर्तनको न्युनिकरणको लागि राज्यलाई जिम्मेवार बनाउन सो संवाद कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे ।

उनले भने,‘आज जलवायु परिवर्तनको कारण मानव जीवनको अस्तित्व संकटमा गइरहेको छ । अब स्वस्थ पृथ्वी आउने भावी पुस्तालाई कसरी हस्तान्तरण गर्ने भन्ने सोच्न आवश्यक । जलवायु परिवर्तनको न्युनिकरणको लागि राज्यलाई कसरी जिम्मेवार बनाउने भन्ने विषयमा यो संवाद कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने छ ।’

कार्यक्रममा मेलुङ गाउँपालिका ,कालिञ्चोक गाउँपालिका र भिमेश्वर नगरपालिका प्रमुखहरुले समेत च्छोरोल्पा संरक्षणको लागि आवाज बुलन्द गनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १ : ३० बजे