काठमाडौं । नेपालमा योग शिक्षाप्रतिको आकर्षण बढ्दो क्रममा छ । माध्यमिकदेखि विश्वविद्यालय स्तरमा योग शिक्षाको अध्ययन हुन थालेसँगै यसप्रति विद्यार्थीहरुको झुकाव बढेको छ ।
माध्यमिक तहमा पाठ्यक्रम विकास केन्द्रले अलगै पाठ्यक्रम तयार गरि विद्यालयमा योग शिक्षा लागू गरेको छ भने त्रिभुवन विश्व विद्यालयले पहिलो पटक विश्वविद्यालय स्तरमा अध्ययन गराइरहेको छ ।
पाठ्यक्रम विकासकेन्द्रले कक्षा ९ देखि कक्षा १२ सम्म ऐच्छिक विषयका रुपमा पाठ्यपुस्तक लागु गरेको छ । सरकारले विसं २०५० सालदेखि विद्यालय स्तरमा योग शिक्षा अनिवार्य गर्ने भनेपनि ढिलागरि पाठ्यक्रम लागू भएको हो ।
त्यसैगरी त्रिभुवन विश्व विद्यालयले २०७५ सालदेखि स्नाकोत्तर तहमा बार्षिक ५० जनालाई शिक्षा प्रदान गरिरहेको छ । त्रिविको संस्कृत केन्द्रीय विभाग अन्तर्गत बार्षिक ५० जनालाई भर्ना लिएर कक्षा संचालन गरिरहेको छ ।
त्रिभुवन विश्व विद्यालय संस्कृत केन्द्रिय विभागका प्रमुख प्राडा नारायण प्रसाद गौतमका अनुसार योग विषय पढ्नका लागि बार्षिक सयौं विद्यार्थीले फाराम भरेपनि निश्चित कोटा निर्धारण गरिएकाले सोही अनुसार विद्यार्थी भर्ना गर्ने गरिएको छ ।
‘मानसिक र शारीरिक रोगका कारण मानिसको अकालमै मृत्यु हुने घटना बढेका छन् । सबैखाले रोगको निधानका लागि योग उपयुक्त मानिने भएकाले योग विषयलाई प्राथमिकता दिएका हौं,’ उनले भने ।
उनले जीवन चलाउने पद्धत्ति योग भएकाले सबैलाई योग आवश्यक रहेको बताए । उनले नेपालमा पहिलो पटक योगबारे शिक्षा दिने पहिलो विश्वविद्यालय नै त्रिभुवन विश्वविद्यालय रहेको दाबी गरे ।
उनले ०७५ सालदेखि योग शिक्षाबारे कक्षा सन्चालन गर्दै आएको जानकारी दिए । ‘योगका कक्षा लिनका लागि कोटाभन्दा बढी विद्यार्थीले फाराम भर्छन् । तर निश्चित कोटा भएकाले सोही अनुसार छनोट गर्छौं,’ उनले अगाडि भने,‘यो विषय पढेर पूरा गरेका विद्यार्थीले महिनाको तीन लाख रुपैंयाँसम्म कमाउने गरेको जानकारी प्राप्त भएको छ ।’
विद्यालय स्तरमै योग जरुरी
विभागीय प्रमुख प्राडा नारायण प्रसाद गौतमका अनुसार विश्वविद्यालयमा भन्दापनि विद्यालयस्तरमै योग शिक्षा जरुरी रहेको औंल्याए ।
‘विश्वविद्यालय स्तरमा भन्दापनि सानो बच्चाहरुले जति योगका पाठहरु गर्न सक्छन ती ठूला मान्छेले गर्न सक्दैनन् । त्यसैले विद्यालय स्तरदेखि नै योग कक्षा जरुरी छ,’ उनले अगाडि भने,‘ अन्य कुनै विश्वविद्यालयमा योग शिक्षा थिएन । त्रिभुवन विश्वविद्यालयबाटै सुरुवात भएको हो । त्यसको नेतृत्व मैंले नै गरेको हुँ । त्रिविमा ०७५ देखि सुरुवात गरेका हौं ।’
योग शिक्षा हाल स्नाकोत्तर तहका विद्यार्थीले पढिरहेको भन्दै उनले काठमाडौं विश्व विद्यालयले पनि स्नातक तहमा योग शिक्षा संचालन गरिरहेको जानकारी दिए । ‘योग शिक्षा समयको माग हो । भारतमा बाबा रामदेवका कारण योगको चर्चा भयो । अहिले विद्यार्थी आकर्षण बढेको छ,’ उनले भने ।
जीवनमा शान्ति आवश्यक भएको र जीवन चलाउने पद्धत्ति नै योग भएकाले नै सबैलाई योग आवश्यक भएको उनले औंल्याए । ‘हरेक मानिसहरु मानसिक रोगका शिकार छन् । त्यसको न्यूनीकरणका लागि योग जरुरी छ । योग सिकाउनेहरुको माग बढेको छ । त्रिविमै पढेका विद्यार्थीहरुले विभिन्न विद्यालयमा योग सिकाएर मासिक तीन लाख रुपैंयाँ कमाइरहेका छन् । कुनै कुनै सस्थाहरुले ६ महिनाको तालिम पनि चलाएका छन् । त्यसैले योगको प्रभाव विस्तारै फैलिँदै गएको छ । तर सरकारको पर्याप्त सहयोग छैन्,’ उनले भने ।
उता, सरकारले माध्यमिक तहमा र निजी विद्यालयहरुले कक्षा १ देखिनै योग कक्षा संचालन गरिरहेका छन् । भक्तपुरको सानोठिमीस्थित पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले योगका कारण जीवन सफल हुने भएकाले योग शिक्षा सन्चालन विद्यालयस्तरमै गरिरहेको जानकारी दिए ।
उनले योग शिक्षा नियमित रुपमा सन्चालन नभएतापनि योगबारे कक्षा १ देखि नै विभिन्न आसनबारे जानकरी दिने गरेको बताए । उनले कक्षा ९ देखि १२ सम्मको लागि पाठ्यक्रमा योग शिक्षा समावेश गरिएको जानकारी दिए ।
‘योगका विभिन्न आसनहरुमध्ये शिशु, बाल आसन, सुका, सामान्य आसन हुँदै पुतली, वृज, बज्र, ताडा, अध्रचन्द्रा आसनलगायत सुर्य नमस्कारसम्म सिकाइन्छ । र कक्षा बढेसँगै आसन सोही अनुसार सिकाइन्छ । योग शिक्षा लागू भएका विद्यालयहरुको तथ्यांक त छैन तर विद्यार्थीको आकर्षण र माग बढ्दो छ,’ उनले भने ।
उनले स्थानीय तहले पनि सरकारले दिएको विषयबस्तु अनुसार पाठ्यक्रम तयार गर्ने, सो अनुसार काम भए नभएको अनुगमन गर्ने गरेको सुनाए ।
योग शिक्षाले मानसिक स्फूर्ति दिने, व्यवहार परिवर्तन गराउने, अनुशासित बनाउने साथै दिमागलाई बाँधेर अघि बढाउन प्रेरित गर्ने पनि उनले बताए । योग शिक्षा सम्बन्धि विभिन्न कक्षाहरुको संचालन भइसकेकाले बाँकी कक्षाहरुका लागि पाठ्यपुस्तक निर्माण गरिरहेको उनले जानकारी दिए ।
योग शिक्षाको भविष्य उज्वल
योग शिक्षा लिइरहेका विद्यार्थीहरुले पछिल्लो समय योगको भविष्य राम्रो रहेको प्रतिक्रिया दिएका छन् । योग अभ्यास गराउने कक्षा संचालन गरेर धेरै युवाले रोजगारी समेत सिर्जना गरेको उनीहरुको भनाइ छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा योग विषय पढ्दै गरेका विद्यार्थी किशोर दाहालले योगको भविश्य उज्वल भएको प्रतिक्रिया दिए । उनले योगले भौतिक, आध्यात्मिक, आत्मिक रुपले विकास गर्नुका साथै क्षमताको समेत विकास गर्ने बताए ।
‘अहिलेको समाजमा योगलाई हटाउने हो भने समाज नै अपूर्ण हुन्छ ।यसको महत्वलाई ध्यान दिएर निजी विद्यालयहरुले योग शिक्षालाई प्राथमिकता दिइरहेका छन् । योगको महत्वका बारेमा जति चर्चा भइरहेको छ त्यसलाई सरकारले अन्देखा गरेको छ । यसको महत्व बुझाउन योगीहरुले नै पहल गर्नुपर्छ,’ उनले भने ।
‘योगले आफ्नो जीवनलाई दैनिक कार्यलाई पेशा र व्यवसायलाई सहजीकरण गराउने, शरीरलाई स्वस्थ्य राख्ने । आफ्नो क्षमता अभिवृद्धि गर्ने काम गर्छ,’ उनले भने । संसारमा योगको आवश्यकता रहेका कारण संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रि योग दिवस समेत घोषणा गरेको छ । रस्मिता गिरी(नेपाल न्यूज बैंक)
प्रतिक्रिया