काठमाडौं । काठमाडौं उपत्यका भित्र व्यस्त क्षेत्रमा पर्छ संयुक्त राष्ट्र सङ्घीय पार्क (यूएन पार्क) । सरकारले करिब तीन दशक अगाडि यूएन पार्क समिति गठन गरेर पार्कलाई व्यवस्थित बनाउने योजना बनाएको थियो । तर यो महत्वकांक्षी योजना विचैमा तुइयो । पार्क लगभग अलपत्र अवस्थामा पुग्यो ।
ललितपुर महानगरपालिकाको शङ्खमूल, ज्वागल, कुपन्डोल र काठमाडौँ महानगरपालिका अन्तर्गत थापाथली र त्रिपुरेश्वर टेकु दोभानसम्म फैलिएको पार्क करिब १५ सय ५६ रोपनी क्षेत्रफलमा छ ।
सुविधासम्पन्न पार्क निर्माण गर्ने सरकारी योजना अलपत्र परेपछि पार्क क्षेत्र अहिले फुर्सदिलाहरुको समय कटाउने माध्यम बनेको छ । मर्निङ वाक, तन्नेरीहरुको डेटिङ पोइन्ट मात्र होइन हिजोआज योग गर्नेहरुको उपयुक्त थलो बनेको छ ।
तीव्र गतिमा बगिरहेको जीवनशैली, शहरी अस्तव्यस्तता, मानसिक तनाव र शरीरमा बढ्दो थकानका बीचमा सन्तुलनमा ल्याउने योगका लागि यूएनपार्क रोजाइमा छ ।
पार्क हाल योग अभ्यास गर्ने स्थल र सर्वसाधारणका लागि विश्राम गर्ने प्रमुख स्थानको रूपमा परिचित बन्दै गएको छ । विविध प्रजातिका बोटबिरुवाले भरिएको पार्क बिहानैदेखि साँझसम्म मानिसहरूको चहलपहलले व्यस्त रहन्छ ।
विशेष गरी कोटेश्वर, बानेश्वर, पाटन, पुल्चोक, कुपन्डोललगायतका क्षेत्रहरूबाट थुप्रै नागरिक यहाँ योग गर्न नियमित रूपमा आउने गर्छन् ।
पार्कको छेउमै बगेको खोलाले यस स्थानलाई भौगोलिक रूपमा झनै रमणीय बनाएको छ । पार्क क्षेत्र प्राकृतिक बनावटका रुपमा आकर्षक र मनमोहक छ । तर, यति सम्भावनायुक्त र प्रयोगमा आइरहेको पार्क पूर्ण रूपमा व्यवस्थित हुन सकेको छैन् ।
खोलाबाट आउने दुर्गन्ध, उचित संरचनाको अभाव, फोहोर व्यवस्थापनको कमी र संरचनागत विकास नहुनु पार्कको प्रमुख समस्या हुन् । योग, ध्यान, प्रकृति अवलोकन र पारिवारिक समय बिताउने उत्कृष्ट स्थलको रूपमा यसलाई अझ उचाइमा पु¥याउन सकिने सम्भावना छ ।
पार्क अहिले एक प्रमुख योगाभ्यास स्थलका रुपमा परिणत हुँदै गएको छ । रुख विरुवाको शितलता र खुल्ला आकाशमुनि प्रत्येक बिहान यहाँ सयौं मानिसहरू दौडने, हिंड्ने र योग गर्न जम्मा हुन्छन् । बिहानको चिसो बतासमा खुला आकाशमुनि योग गर्नेहको भीड देखिन्छ ।
‘यूएन पार्क योगा’ नामक समूहले विगत लामो समयदेखि निःशुल्क योग सिकाउँदै आएको छ । बालबालिका, युवायुवतीदेखि लिएर वृद्धवृद्धासम्म सबै उमेर समूहका मानिसहरू बिहान ५ बजेदेखि ७ बजेसम्म नियमित योग अभ्यासमा संलग्न हुन्छन् ।
शंखमुलमा बसोबास गर्दै आइरहेकी शर्मिला थापा १० बर्षदेखि योग गर्दै आइरहेकी छिन् । उनी पनि यूएन पार्क क्षेत्र योगका लागि उपयुक्त ठान्छिन् ।
‘मैंले १० वर्ष भयो योग गर्न थालेको । यसले शरीर मात्र होइन, दिमाग पनि फ्रेस हुन्छ । गुरुहरूले सरल एवम प्रभावकारी तरिकाले सिकाउनु हुन्छ । सोही अनुसार योग गर्छौ र सबै साथीहरू परिवारझैं भएर रमाइलो पनि गर्छौं,’ उनले भनिन् ।
नियमित योग गर्दै आइरहेकी भवानी दाहाल चौलागाईं योगाभ्यासमा संलग्न भएको ११ बर्ष वित्यो । ‘बिहान योग गर्दा थकान, तनाव, चिन्ता सबै हराउँछ । रोग प्रतिरोधात्मक क्षमता पनि बलियो हुन्छ । यसकारण पनि योग नियमित गर्ने गर्छु । योगले विहानको समयमा छिटो उठाउने बानी बसेको छ,’ उनले भनिन्,‘योग गर्नकै लागि विहान सबेरै यूएन पार्क पुग्छु ।’
त्यस्तै योगबाट लाभ लिएको अनुभूति गरेकी पुनम खत्रीसँग आठ बर्ष लामो योग गरेको अनुभव छ । ‘म सँधै यूएन पार्कमा योग गर्न आउँछु । तर योगसंगै खानपानमा पनि उत्तिकै ध्यान दियो भने शरीरलाई फाइदा गर्छ । पार्कमा रमाइलो पनि हुन्छ । साथीभाइसँग समय बिताउँदा जीवन झनै उल्लासमय लाग्छ,’ उनले भनिन् ।
‘म विहानै उठेर योगा गर्न आउँछु, आफू मात्र होइन, अरूलाई पनि योग गर्न प्रेरित गर्छु । घरमै सुतेर अल्छी गर्नु भन्दा योग गरेर दिन सुरु गर्दा दिनभर दिमाग फ्रेस हुने र सक्रिय रहन सकिन्छ,’ उनले भनिन् ।
मर्निङ वाक र योग
यूएन पार्कजस्ता अन्य सयौं पार्कहरुमा मानिसहरु मर्निङ वाक गर्दै योगमा सामेल हुने गरेका छन् । महेन्द्र श्रेष्ठ उमेरले ५० कटिसकेका भएपनि नियमित शारीरिक व्ययामले उमेरसंगको बुढोपनले सम्बन्ध टुटाएको बताउँछन् । विहानीको विस्तारा भन्दा प्यारो युएन पार्कको सेरोफेरो मनपर्ने पनि उनले बताए । ‘म २० बर्षदेखि विहानी यसरी नै हिडिरहेको छु । शारीरिक स्वास्थ्य मात्र होइन, मानसिक प्रसन्नता पनि हिड्ने गर्छु,’ उनले भने ।
शारीरिक फिटनेस रहन रुचाउने सरोज थापा पनि विहानीपख यूएन पार्कमा रुमलिन आइपुग्छन् । ‘शहरीया जीवन भनेको गाडीको जीन्दगी हो । यसले हाम्रो शरीरमा अल्छिपना संगै रोगलाई निम्त्याउन सक्छ । शहरमा हिडडुल गर्ने वातावरण नभएकाले विहानीपख व्ययाम गर्नु राम्रो हुन्छ । योग र व्ययामका लागि यूएन पाकै उपयुक्त लाग्छ,’ उनले भने । सन्तोषी रावल /नेपाल न्यूज बैंक
प्रतिक्रिया