Logo

खेलकुद

नेपालको घातक बलिङ: स्कटल्यान्डका पाँच ब्याटर पावर प्लेमै आउट



ग्लासगो, स्कटल्यान्ड – त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध घातक बलिङ प्रदर्शन गरेको छ। मंगलबार ग्लासगोमा भएको खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दै पावर प्ले अवधिमा नै स्कटल्यान्डका पाँच विकेट लिएको हो।

पहिलो इनिङको छैठौं ओभर सकिँदासम्म स्कटल्यान्डले ३६ रनमा पाँच विकेट गुमाएको थियो। नेपालका करण केसीले दुई विकेट लिँदा, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए। बाँकी एक विकेट रनआउटमार्फत खसाएको हो।

नेपालको यो शृंखलाको दोस्रो खेल हो। यसअघि उसले नेदरल्यान्ड्सविरुद्धको खेल तीनपटक सुपर ओभरसम्म पुगे पनि अन्ततः पराजित भएको थियो। ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा तीन पटक सुपर ओभर पुगेको त्यो पहिलो र हालसम्मकै एकमात्र खेल हो।

स्कटल्यान्डको पनि यो दोस्रो खेल हो। उसले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले पराजित गरेको थियो।

त्रिदेशीय शृंखलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी छन्। शृंखला आइतबारदेखि सुरु भएको हो।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ८ : ३३ बजे