काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले बजेट सत्रको व्यस्तता उल्लेख गर्दै संसदीय समितिमा विधेयकमाथि छलफल नगर्न आग्रह गरेकी छन्। मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यस्तो आग्रह गरेकी हुन्।
समितिको उक्त बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी संशोधन प्रस्तावकर्तासँग छलफलको कार्यसूची थियो। तर सांसद यादवले संसद् बैठक र बजेटमाथिको छलफल पनि सोही दिन तय भएकाले विधेयकमाथिको छलफल पछि सार्नुपर्ने बताइन्।
“बजेट सत्रको व्यस्त समयमा समितिको बैठक राख्दा संशोधन प्रस्तावक पनि उपस्थित हुन सक्दैनन्,” उनले भनिन्, “समितिले पनि विधेयकलाई आवश्यक समय दिन सक्दैन। यस्तो अवस्थामा छलफल सार्नु उपयुक्त हुन्छ।”
उनले आवश्यक परे बिदाको दिन बैठक राख्न सुझाव दिँदै त्यसमा सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरिन्। बैठकमा उनले समयको सीमितता र कार्यभारको चापका कारण बजेट सत्रमा विधेयक छलफल प्रभावकारी हुन नसक्ने स्पष्ट पारिन्।
प्रतिक्रिया