जनकपुर । मधेश प्रदेशका वन तथा वातावरणमन्त्री संजयकुमार यादवले वातावरणीय चुनौतीहरू समाधानका लागि सरकार एक्लैले पर्याप्त हुन नसक्ने धारणा व्यक्त गरेका छन् ।
उनले स्थानीय, प्रदेश र संघ सरकारसँग समन्वय गरी गैरसरकारी क्षेत्रले सहकार्य गर्नुपर्ने अहिलेको आवश्यकता रहेकोमा जोड दिए ।
वेलायत सरकारको सहयोगमा सञ्चालित रेन परियोजनासम्बन्धी सोमबार जनकपुरधाममा आयोजित प्रदेशस्तरीय समन्वय बैठकमा मन्त्री यादवले सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
‘जलवायु परिवर्तनको असर नेपालमा गहिरिँदै गएको छ,’मन्त्री यादवले भने, ‘यसको सामना गर्न सरकारी, गैरसरकारी र स्थानीय समुदायबीच आपसी समन्वय अपरिहार्य छ ।’
युवापुस्ताको सहभागिता नदी, नाला सफाइ, वन्यजन्तु संरक्षण र जैविक विविधता जोगाउन महत्त्वपूर्ण हुने भन्दै उनले युवा नेतृत्वको सक्रियतामा जोड दिए ।
कार्यक्रममा वन निर्देशनालय मधेश प्रदेशका निर्देशक जगरनाथ प्रसाद जयसवालले जोखिमपूर्ण क्षेत्रका समुदायलाई सुरक्षित राख्न समयमै सूचना प्रवाह गर्नुपर्ने आवश्यकता औंल्याउँदै परियोजनाको भूमिकालाई अझ प्रभावकारी बनाउने आवश्यकता उल्लेख गरे ।
जलवायु परिवर्तन, बाढी, पहिरो र चुरे विनाश जस्ता गम्भीर वातावरणीय समस्याको प्रभाव न्यूनीकरण गर्न मधेश प्रदेशमा सञ्चालित रेन परियोजनाले काम गर्दै आएको छ ।
प्रतिक्रिया